काठमाडौं । कानुन व्यवसायी क्लबले शंकरलाल केडिया फाउन्डेसनसँगको सहकार्यमा कानुनसँग सम्बन्धित विभिन्न विधामा पुरस्कार वितरण गरेको छ । क्लव र फाउन्डेसनको संयुक्त सहकार्यमा आयोजित एक कार्यक्रमका बीच कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले स्व. शंकरलाल केडिया कानुन पुरस्कार, कानुन युवा पुरस्कार, उत्कृष्ट कानुन पुस्तक पुरस्कार एवं कानुन पत्रिकामा वर्षभरिमा प्रकाशित लेख रचनामध्ये उत्कृष्ट लेख, रचनाका लेखकहरूलाई उत्कृष्ट कानुन लेखन पुरस्कार वितरण गरेका हुन् । यो वर्षको स्व. शंकरलाल केडिया कानुन सम्मान पुरस्कार वरिष्ठ अधिवक्ता प्राध्यापक गुणनिधि न्यौपानेले पाएका छन् ।
यस्तै स्व. शंकरलाल केडिया स्मृति युवा कानुन पुरस्कारबाट वरिष्ठ अधिवक्ता महेशकुमार थापाले प्राप्त गरे भने स्व. शंकरलाल केडिया उत्कृष्ट पुस्तक लेखन पुरस्कार बेपत्ता पारिएका परिवार छानबिन आयोगका सचिव श्यामकुमार भट्टराईद्वारा लिखित ‘संवैधानिक तथा प्रशासकीय कानुन’ पुस्तकले पाएको छ । यसअघि ११ वर्षसम्म लगातार न्याय एवं कानुन क्षेत्रका वरिष्ठ व्यक्तित्वहरूलाई सम्मानित गरेको फाउन्डेसनले जनाएको छ ।