ढाका, चैत ५
विश्व बैंकले बंगलादेशलाई विश्व महामारी कोरोना भाइरसविरुद्ध लड्न १० करोड अमेरिकी डलर दिने भएको छ । द डेली स्टारका अनुसार कोरोनाको संक्रमण रोक्न आवश्यक उपायका लागि उक्त रकम दिन लागिएको हो । यसका लागि बंगलादेशले आग्रह गरेपछि विश्व बैंकले सहयोग गर्नलागेको जनाइएको छ । इकोनोमिक रिलेसन्स डिभिजनले उक्त प्रस्ताव गरेको थियो । प्रस्तावका लागि बंगलादेशको स्वास्थ्य मन्त्रालयले आग्रह गरेको थियो ।
सोमबार प्रस्ताव आइपुगेपछि विश्व बैंकले सरकारलाई उक्त रकम दिने अनौपचारिक जानकारी गराएको बंगलादेशी मिडियाले जनाएका छन् । यही हप्ता कोषमार्फत उक्त रकम बंगलादेशले पाउनसक्नेछ । विश्व बैंकका देशीय निर्देशक मर्सी टेम्बनले प्रस्ताव आएको पुष्टि गरेका छन् । कोरोनाका कारण प्रभावित देशहरुलाई बैंकले १२ अर्ब डलरको प्रारम्भिक प्याकेज सार्वजनिक गरिसकेको छ । बंगलादेशमा बैंकको टोलीले अवलोकन गरेर परियोजनाको सम्भाव्यता अध्ययन गरेपछि कोषले स्वीकृति पाउनेछ र सोही कोषलाई उक्त रकम उपलब्ध हुने बताइएको छ ।