काठमाडौं । नेपाल प्रहरीमा जतिबेला प्रहरी महानिरीक्षकको पदावधि सकिन केही महिना वा एक वर्ष बाँकी रहन्छ । तब नयाँ प्रहरी महानिरीक्षक बन्न रस्साकस्सी सुरु हुन्छ । यो रस्साकस्सीमा हिजोको दिनमा संगठनमा बसेर एउटै थालमा खाएकाहरु नै कसैलाई पछार्ने र कसैलाई उचाल्ने खेलमा होमिन्छन् । यही खेलमा प्रहरी महाननिरीक्षक हुने दौडमा सामेल भएकाबाट नै एकआपसको गल्ती कमजोरी उदांगो पार्ने शृंखला सुरु हुन्छ ।
अहिले नेपाल प्रहरीको प्रहरी महानिरीक्षकको पदमा धिरज प्रताप सिंह छन् । उनको कार्यकाल सकिन केही महिना मात्र बाँकी छ । यही क्रममा नयाँ आईजीपी बन्ने खेल र गल्ती कमजोर उदांगो पार्ने शृंखला सुरु भइसकेको छ । यो शृंखलामा पहिलो पात्र अथवा भनौँ पहिलो शिकार भएका व्यक्ति हुन् प्रहरी नायब महानिरीक्षक अशोक सिंह (हाल उनले पदबाट राजीनामा दिइसके) । उनको नागरिकतासम्बन्धी विवादका कारण भावी आईजीपीको दौडमा रहेका सिंहले पदबाट राजीनामा दिइसकेका छन् ।
जुनसुकै पार्टीको सरकार आए पनि शक्तिकेन्द्रको नजिक रहेर काम गरेका सिंहले नागरिकतामा भएको जन्ममिति र शैक्षिक योग्यताको प्रमाणपत्रमा भएको फरक मितिकै कारण राजीनामा दिए । उमेर सच्याएर पदमा बहाल रहेको र भावी आईजीपीको दौडमा लागेको भन्दै उनीविरुद्ध कुनै अमुक व्यक्तिको निर्देशनमा कुनै व्यक्तिले अख्तियार दुरुयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता गरे । मुद्दा अनुसन्धानकै क्रममा रहँदा सिंहले पदबाट राजीनामा दिए । सिंहको प्रहरी अभिलेखमा जन्ममिति वि.सं. २०२५ साल पुस १६ गते उल्लेख थियो भने सिटरोलमा पनि जन्ममिति वि.सं. २०२५ पुस १६ गते नै उल्लेख थियो ।
नागरिकतामा भने सिंहको जन्ममिति १८ वर्ष उल्लेख थियो भने जारी मिति वि.सं. २०४२ जेठ २२ गते उल्लेख थियो । सोअनुसार सिंहको नागरिकतामा हुन आउने जन्ममिति वि.सं. २०२४ जेठ २२ गते थियो । शैक्षिक प्रमाणपत्रमा भने सिंहको जन्ममिति वि.सं. २०२५ पुस १६ गते उल्लेख थियो । सोअनुसार सिंहको जन्म मिति एक वर्ष छ महिना २४ दिनको फरक देखियो । सोही कारण पनि सिंहले पदबाट राजीनामा दिए ।
नेपाल प्रहरीमा जन्म मिति फरक भएका सिंह एउटै मात्र व्यक्ति होइनन् । धेरै व्यक्तिहरुमा यो समस्या छ । प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीमा पनि यस्तै समस्या छ । लोहनीको प्रहरी किताबखानामा रहेको जन्ममिति वि.सं. २०२४ असोज १९ गते छ भने सिट रोलमा उल्लेख भएको जन्ममिति वि.सं. २०२४ असोज २९ गते उल्लेख छ । नागरिकतामा भने लोहनीको जन्ममिति वि.सं. २०२५ वैशाख १५ गते उल्लेख छ । सोअनुसार नागरिकतामा हुन आउने लोहनीको जन्ममिति वि.सं. २०२५ वैशाख १५ गते छ ।
शैक्षिक प्रमाणपत्रमा भने लोहनीको जन्ममिति वि.सं. २०२४ असोज १९ गते छ । सोअनुसार लोहनीको हकमा फरक पर्न गएको जन्ममिति छ महिना २६ दिन छ । यसैगरी प्रहरी नायब महानिरीक्षक नल प्रसाद उपाध्यायको पनि नागरिकता र शैक्षिक प्रमाणपत्रमा उल्लेख भएको जन्ममिति फरक देखिएको छ । नागरिकतामा वि.सं. २०२४ साउन १९ गते जन्ममिति उल्लेख भएको उपाध्यायको शैक्षिक प्रमाणपत्रमा वि.सं. २०२४ फागुन २ गते जन्ममिति उल्लेख छ । सोअनुसार उपाध्यायको हकमा फरक पर्न गएको जन्ममिति छ महिना १४ दिन रहेको देखिएको छ ।
यीबाहेक प्रहरी नायब महानिरीक्षक मसुद आलम खाँ, किरण बज्राचार्य, भीम प्रसाद ढकाल आदिको हकमा पनि उमेरमा केही कैफियत देखिएको छ । यस अर्थमा नेपाल प्रहरीका उच्च अधिकारीहरुमा एकाधबाहेक धेरैमा जन्ममितिसम्बन्धी समस्या देखिएको छ । सो समस्या किन देखियो, तत्कालीन समयमा नागरिकता लिँदा नै त्यो समस्या थियो वा बदनियत राखियो । राज्यले जिम्मेवार भएर सोच्नैपर्छ । कारबाहीको नाउँमा कसैलाई पनि बलीको बोको मात्र बनाउनुहुँदैन । सबैमा न्याय स्थापित गराउनुपर्छ । समन्याय कायम गराउनुपर्छ । कारबाहीको नाउँमा कसैलाई काखा कसैलाई पाखा गराउनुहुँदैन ।