काठमाडौं । ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका–३ दियालेमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । मृत्यु हुनेमा चिसंखुगढी–३ घर भएका ७० वर्षीय भक्तबहादुर थापा र ५२ वर्षीय मीनबहादुर श्रेष्ठ रहेका छन् ।
चिसंखुगढी गाउँपालिका ३ चापाकोटबाट जिल्ला सदरमुकाम तर्फ जाँदै गरेको ना १ ज ८४७३ नम्बरको बोलेरो जिप आईतबार विहान दियालेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनेमा तिर्थ लक्ष्मी थापा, सर्मिला श्रेष्ठ, खेम अधिकारी, तुलसादेवी कटेल, आयुसा श्रेष्ठ , केन्द्र कार्की, चालक सुमन कार्की लगायत छन् । गम्भीर घाईते सबैलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको छ ।
बोलेरोमा १३ सवार थिए । क्षमताभन्दा बढी यात्रु बोकेका कारण बोलेरो अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घाईते अधिकांशको टाउको फुटेको छ भने शरिरको बिभिन्न भागमा चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् । जिप सडकबाट अन्दाजी २०० मिटर तल खसेको थियो ।