काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन संसदीय दललाई निर्देशन दिएका छन्।
पार्टी नेतृत्वले विश्वासको मत दिनका लागि केन्द्रबाट निर्देशन गरेकाले सोहीअनुसार काम गर्ने माओवादीबाट सुदूरपश्चिम प्रदेश सभा सदस्य मानबहादुर धामीले जानकारी दिए । सबै राजनीतिक दलहरूले प्रदेश सभामा उपस्थितिको हैसियतअनुसार जाने समझदारी रहेको उनले बताए ।
मुख्यमन्त्रीले आज आइतबार विश्वासको मत लिने तयारी गरेका छन् । दिउसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरिएको छ । यसअघि गठित एमालेका राजेन्द्रसिंह रावल नेतृत्वको सरकार विश्वासको मत जुटाउन नसकेपछि पदमुक्त भएका थियो । त्यसपछि सुदूरपश्चिम प्रदेश सभाको ठूलो दलको हैसियतमा कांग्रेसका शाह २६ माघमा मुख्यमन्त्री नियुक्त भएका थिए । माघ २६ गते गठित शाह नेतृत्वको सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
विश्वासका मतका लागि २७ मत आवश्यक छ । गठबन्धनमा रहेका ८ दलमध्ये सुदूरपश्चिममा कांग्रेससँग १९, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् । एक जना स्वतन्त्र सांसदको पनि मुख्यमन्त्रीलाई विश्वासको मतमा साथ रहने देखिएको छ ।