काठमाडौं, चैत ६
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई महासंघका तर्फबाट मास्क तथा व्यक्तिगत सुरक्षा उपकरण हस्तान्तरण गरेकी छिन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणबाट उत्पन्न हुन सक्ने जटिल परिस्थितिमा सर्वसाधारणको स्वास्थ्य सुरक्षा र उपचार कार्यमा सहयोग पु-याउने उद्देश्यले महासंघले बुधबार मन्त्रालयमा सुरक्षा उपकरण हस्तान्तरण गरेको जनाएको छ । अध्यक्ष राणाले महासंघका तर्फबाट दश हजार थान मास्क र दुई सय ५० सेट व्यक्तिगत सुरक्षा उपकरण हस्तान्तरण गरेकी हुन् ।
व्यक्तिगत स्वास्थ्य सुरक्षा उपकरण हस्तान्तरण गर्दै अध्यक्ष राणाले महासंघले सदाझै संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गरी अहिलेको जटिल परिस्थितिमा जनताको स्वास्थ्य सुरक्षाका लागि सरकारले अगाडी बढाएका कार्यक्रममा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग कार्यलाई थालनी गरेको र यसलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता समेत जनाइन् ।
सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड, उद्योग मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे, वाणिज्य मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल, महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान, मन्त्रालयका सहसचिवहरू, नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश नम्वर ३ का अध्यक्ष दिनेश श्रेष्ठ, महासंघका उपमहानिर्देशक हंसराम पाण्डे, उपनिर्देशक विदुरचन्द्र लामिछानेसहितको उपस्थिति रहेको थियो ।