भक्तपुर । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता गरेका छन् नेता बस्नेतलाई भेट्न मेयर शाह गुण्डु पुगेका थिए ।
उनीहरुबीच भएको भेटवार्तामा काठमाडौँ र भक्तपुरको विकास र त्यहाँको समस्या समाधानमा दुवैले खेल्नुपर्ने भूमिकाको विषयमा केन्द्रीत भएको थियो । मेयर शाहले केही स्थानको विकास तथा पुनःनिर्माण गरिएको अनन्तलिङ्गेश्वर मन्दिर, ऐतिहासिक अनन्त झुला (कुण्ड), पाथिभरा मन्दिर, निर्माणाधिन राष्ट्रिय प्राणी उद्यान केन्द्रलगायतका स्थानको अवलोकन समेत गरेका थिए ।
भेटवार्तामा वर्तमान राष्ट्रिय राजनीति र त्यसको प्रभाव प्रत्यक्ष रुपमा विकास निर्माणमा पर्ने भएकाले कांग्रेस र एमालेको नेतृत्वमा सरकार गठन भएमा राजनीतिक स्थिरता हुने भन्दै मेयर शाहले नेता बस्नेतलाई आगामी दिनमा एमालेको भूमिका र कांग्रेस एमालेबीचको सहकार्यको बारेमा चासो राखे ।
नेता बस्नेतले कोटेश्वर चोकमा आकाशे पुल बनाउनुपर्नेमा जोड दिए । विगतमा आकाशे पुल बनाउने विषय टुंगिएता पनि व्यक्तिगत स्वार्थका कारण चोकमा नभई अन्यत्र बनाउने पहल भएकाले उक्त कार्यलाई व्यवहारीक रुपमा हेर्न मेयर शाहलाई नेता बस्नेतले आग्रह गरे । जवाफमा मेयर शाहले आकाशे पुल चोक नै निर्माण गरी पैदल यात्रीलाई सहज बनाउनुको कुनै विकल्प नभएकाले कसैको स्वार्थको कुनै अर्थ नहुने विश्वास दिलाए ।