काठमाडौं,आइसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम त्रिकोणात्मक शृङ्खलामा नेपालले पपुवा न्युगिनीलाई २९८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर नेपाललाई पहिला ब्याटिङको निम्तो दिएको थियो ।
नेपालका लागि आशिफ शेखले पहिलो एकदिवसीय शतक सहित ११० रन प्रहार गरेका थिए । उनले १०१ बलमा शतक पूरा गरेका थिए। उनले खेलको ३५औँ ओभरमा एक रन लिँदै शतक पूरा गरेका हुन् ।
आजको खेलमा कुशल भुर्तेलले ५६ बलमा ४५ रन बनाउँदै आउट भए भने रोहित पौडेलले ३९ बलमा ३० रन बनाए,भिम सार्कीले ४४ रन,आरिफ सेख १५ रन बनाएका थिए ।
विश्वकप लिग–२ को शीर्ष तीन भित्र रहन नेपाललाई जारी शृङ्खलाका चारै खेलमा जित आवश्क छ । एकदिवसीय मान्यता जोगाउनका लागि भने नेपाललाई चारमध्ये दुई खेल जित्न जरुरी छ । सात देश सम्मिलित लिग–२ मा नेपालले हालसम्म ३२ खेलबाट ३२ अङ्क जोडेको छ । नेपाल पाँचौँ स्थानमा छ ।
पपुवा न्युगिनीलाई जारी शृङ्खलामा जित हारले केही फरक पर्ने देखिदैन । पपुवा न्युगिनी लिग–२ को पुछारमा छ । उसले हालसम्म ३२ खेलबाट नौ अङ्क जोडेको छ ।
नेपाल जस्तै युनाइटेड अरब इमिरेट्स (युएई) का लागि पनि अन्तिम शृङ्खला महत्वपूर्ण छ । उसले हालसम्म खेलेका ३२ खेलबाट ३१ अङ्क जोडेको छ । युएई लिगको छैटौँ स्थानमा छ । जारी शृङ्खलाका चारै खेल जिते उसले विश्वकपमा स्थान बनाउने छ । फराकिलो अन्तरले दुई खेल जितेमा युएईले एकदिवसीय मान्यता जोगाउने छ अन्यथा उसले तीन खेल भने जित्नै पर्ने अवस्था छ । नेपालमा आजदेखि सुरु भएको लिग–२ को शृङ्खला अन्तिम हो ।