काठमाडौं, आइसिसी विश्वकप क्रिकेट लिग २ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत पपुवा न्युगिनीले नेपाललाई ९६ रनको टार्गेट दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए ।
पपुवा न्युगिनीलाई कम रनमा रोक्न नेपालका लागि सन्दीप लामिछाने उत्कृष्ट बलिङ गदै ५ विकेट लिए । त्यस्तै कुशल मल्ल र ललित राजवंशीले समान २ २ विकेट लिदा सोमपाल कामीले १ विकेट लिए । नेपाल बिरुद्ध असद वाला २० रन,सेसे बाउ १८,चार्ल्स अमिनी १६ र हिरि हिरिले १४ रन बनाउनु बाहेक अरु कुनै पनि ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।
नेपाली टोलीमा आज एक खेलाडीलाई परिवर्तन गरेको थियो। नेपाली टिममा रहेका गुलशन झालाई बेञ्चमा राखेको थियो भने उनको स्थानमा करण केसी समावेश गरेको थियो ।
नेपालले हिजो भएको खेलमा युएईलाई एक सय ७७ रनले पराजित गर्दै आगामी चार वर्षका लागि एक दिवसीय मान्यता जोगाएको थियो ।
तेस्तै घरेलु मैदनमा भएको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई हराएको थियो । यसअघि युएई भ्रमणमा पनि नेपालले दुवै खेलमा पपुवा न्युगिनीलाई हराएको थियो ।
आजको खेलमा पनि नेपालले पपुवा न्युगिनीलाई हराउँदै जित सुनिश्चित गर्न चाहन्छ । नेपाल ३४ खेलमा ३६ अङ्कका साथ चौथो स्थानमा छ । अब बाँकी रहेका दुई खेलमा विजयी हासिल गरेमा नेपाल तेस्रो स्थान पक्का गर्दै विश्वकप छनोटको यात्रा पक्का गर्नेछ ।
तेस्रो स्थानको नामिबियाको ३६ खेलमा ३९ अङ्क छ । छैटौँ स्थानमा रहेको युएईको ३४ खेलमा ३१ अङ्क छ भने सातौँ स्थानको पपुवा न्युगिनीको समान खेलमा ११ अङ्क छ । ५० अङ्कसहित शीर्ष स्थानमा बसेको स्कटल्यान्ड र ४४ अङ्कसहित दोस्रो स्थानमा बसेको ओमानले भने विश्वकप छनोटको यात्रा तय गरिसकेको छ ।
नेपालको प्लेइङ–११ कप्तान रोहित पौडेलसहित आसिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, करण केसी, कुशल मल्ल, सोमपाल कामी र ललितनारायण राजवंशी छन् ।