अंकारा । टर्कीको केन्द्रीय बैंकले सोमबार सुनको आयातमा तीव्र वृद्धि र ऊर्जा आयात बिलहरू बढ्दै गएपछि जनवरीमा देशको चालू खाता घाटा झण्डै ९.८५ अर्ब अमेरिकी डलर पुगेको जनाएको छ । केन्द्रीय बैंकको तथ्यांकले सुन र ऊर्जाबाहेक चालू खातामा जनवरीमा दुई अर्ब छ करोड डलर खुद बचत रहेको पनि देखाएको छ ।
चालू खाता मौज्दात हुने वस्तुहरूमध्ये वस्तुको वैदेशिक व्यापारमा १२ अर्ब ४३ करोड डलरको घाटा रहेको छ भने सेवातर्फ तीन अर्ब १६ करोड डलरको खुद बचत छ । सेवा व्यापारअन्तर्गत ट्राभल वस्तुले २.४५ अर्ब डलरको बचत रहेको देखाएको छ । आधिकारिक तथ्यांकअनुसार जनवरीमा चालू खाता घाटाले मार्च २०११ को कीर्तिमान ९.४१ अर्ब डलर घाटालाई पनि उछिनेको छ ।
यसैबीच टर्कीको १२ महिनाको रोलिङ घाटा जनवरीमा ५१.७ अर्ब डलर पुगेको छ जुन सन् २०१४ को फेब्रुअरी यताकै उच्च हो । टर्की सरकारले बढ्दो मुद्रास्फीति र स्थानीय मुद्राको मूल्यह्रासको बाबजुद उच्च निर्यात र कम ब्याज दरहरूमार्फत चालू खाता अधिशेषलाई पछ्याउने आर्थिक मोडेलको अभ्यास गरेको छ ।