काठमाडौं । जिल्ला अदालत, काठमाडौंले ठगी, सार्वजनिक लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसूरमा पृथ्वीबहादुर शाहसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
अदालतको आदेशपछि सोमबार पृथ्वीसहित उनका भाइ विजयविक्रम शाह, सहयोगी अनुप खड्का, चक्रबहादुर खत्री, रुक्मांगत काफ्ले र रंगबहादुर साउद पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
प्रकरणमा संलग्न १३ जना अझै फरार रहेका छन् । फरार रहनेमा अछामका देवेन्द्र ढुंगाना, रामेछापका सागर आले मगर, कैलालीका लक्ष्मण रेग्मी, रामेछापका विनोद सुन्दार, काठमाडौं सानु ठकुरी, अविन परियार, राजुकमार ठकुरी, सन्तोष पाण्डे, अञ्जना रजक भण्डारी, किशोर सिंह, तरुण शाह, शिवकुमार पाण्डे र देवेन्द्रबहादुर शाह छन् ।
पक्राउ परेका ७ प्रतिवादीमध्ये भक्तपुरकी २४ वर्षीया विनिता तामाङलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बताएको छ । अमेरिकामा अनलाइनमार्फत ठगी गरेको रकम नेपाल ल्याएको आरोपमा शाहलाई सीआईबीले पक्राउ गरेको थियो । उनीहरुविरुद्ध व्यूरोमा २४ वटा उजुरी परेको थियो ।
पृथ्वीबहादुर शाहको समूहमा रहेका व्यक्तिहरुले संगठित रुपमा अवैध सम्पत्ति आर्जन गर्ने उद्देश्यले २४ भन्दा बढी कम्पनी खडा गरेका सीआईबीको अनुसन्धानले देखाएको छ । शाहको समूहले काठमाडौं महानगरपालिका–७ मा खरिद गरेको एउटा जग्गामा लिखत मूल्य कम देखाई राजस्व र लाभ कर छलेको पनि सीआईबीले जनाएको छ ।