काठमाडौं । सरकारी सेवासुविधा लिएर नेपालमा व्यवसाय गरी अर्बौँ कमाएका विभिन्न क्यासिनोहरुलाई सरकारलाई तिर्नुपर्ने बाँकी बक्यौता तिर्न महालेखा नियन्त्रकको कार्यालयले ताकेता गरेको छ ।
महालेखाले उनीहरुको तीनपुस्ते विवरण सार्वजनिक गर्दै फागुन २९ गते सोमबारको मितिले ३५ दिनभित्र सरकारी बाँकी रकम ब्याजसहित तिर्न र नतिरेमा थप कारबाही अघि बढाउने जनाएको छ । कारबाही अगाडि बढाउँदा आर्थिक हानि÷नोक्सानी तथा सामाजिक प्रतिष्ठामा क्षति भएमा आफू जिम्मेवार नहुने महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
महालेखाले करोडौँ रुपैयाँ नतिर्ने सञ्चालक आरडी टटल, सुवर्ण क्षत्री, तुलाराम घट्ट, शान्ति चड्डा, राकेश बाधवा, शालिनी बाधवा र सुश्री केटसरिन सिम्हनाकेद्वारा सञ्चालित नेपाल रिक्रिएसन सेन्टर ताहाचलको ११ लाख ९० हजार नौ सय त्रियानब्बे र नेपाल रिक्रिएसन सेन्टर नक्सालको ९० करोड ५० लाख १३ हजार पाँच सय ५३, तप्त बहादुर विष्ट, नरेन्द्र लाल प्रधान, कल्पदीप राई, ईश्वरी प्रसाद श्रेष्ठ तथा जोत्सना बस्नेत सञ्चालक रहेको अन्नपूर्ण इन्टरनेशनल प्रालिको उन्नाईस करोडभन्दा बढी र राधेश्याम सर्राफ, रत्नादेवी सर्राफ, अरुण कुमार सर्राफ तथा उमेश सर्राफद्वारा सञ्चालित होटल याक एण्ड यती प्रालिको २० करोडभन्दा बढी तिर्न बाँकी रहेको छ ।
त्यस्तै पियुष बहादुर अमात्य, गंगा अमात्य, सञ्जु अमात्य राजभण्डारी, नुरा श्रेष्ठ, सुमी अमात्य, आयुष अमात्य तथा आन्टु श्रेष्ठद्धारा संचालित दि फुलवारी ली पोखराको ४१ करोडभन्दा बढी नतिरेको महालेखाले निकालेको सूचनामा उल्लेख छ । महालेखाले सूचनामा सरकारी बाँकी रकम नतिर्नेहरुमा ठेकेदार, प्रहरी, व्यापारी, सरकारी कर्मचारीलगायत छन् । साथै कतिपय अमेरिका र भारत ठेगाना भएकाहरु कम्पनीका सञ्चालकको नाम पनि सूचीमा छ ।
महालेखाले सूचना जारी गरे पनि उनीहरुले सजिलै बक्यौता तिर्ने सम्भवना छैन । कतिपय व्यक्तिहरु नेपालबाट भागिसकेका छन् भने कतिपय नेपालमै भए पनि शक्ति र पहुँचको आधारमा निर्बाध यहाँ अन्य काम गरेर बसेका छन् ।