काठमाडौं,राष्ट्रिय सतर्कता केन्द्रले जेपी स्कुल लिजमा दिँदा गरिएको अनियमिततामाथि गरिरहेको छानबिनमा विद्यालयका प्रधानाध्यापक लक्ष्मण पौडेलसँगको बयानमा ताकेता गरेको छ ।प्रधानाध्यापक पौडेलसँग सतर्कता केन्द्रले ताकेता गर्दै बयान लिएपछि स्कुलभित्र भएको अनियमितता छानबिन हुँदै भ्रष्टाचार चाँडै बाहिर आउने स्थानीयहरुले अपेक्षा गरेका छन् ।
राजधानीको पर्यटकीय केन्द्रविन्दु ठमेलमा रहेको ऐतिहासिक महत्व बोकेको जेपी स्कूलको जमिन २०६५ मा तरुण निर्माण सेवालाई साढे तीन वर्ष निर्माण अवधि तोकेर ३० वर्षका लागि लिजमा दिइएको थियो र त्यसलाई २०६८ र २०७२ सालमा पूरक सम्झौता गर्दै समय थप्दै गएको थियो । साढे तीन वर्षमा सकिनुपर्ने निमार्णकार्य १४ वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन ।
लिजमा सम्झौता गरेको तरुण निर्माण सेवाको मनोज मिश्रले लिज ट्रान्सफर गरेर छिमी भन्ने व्यक्तिलाई जिम्मा लगाएर आफू पछि हटेको छ ।उक्त लिज काण्डमा तत्कालीन बिभोर विकास बैंकका सीईओ अजयराज घिमिरेसहित विश्वभक्त श्रेष्ठ, प्रेम प्रसाद शर्मा, विक्रम राज भट्टराई, लक्ष्मण पौडेल, मनोज कुमार मिश्र, सम्राट शम्शेर जबरा, चन्द्र बहादुर कार्की, प्रविण न्यौपाने, रवीन श्रेष्ठ, अरुण सिंह बस्नेत, लक्ष्मण बराल, परशुराम झा, रामकृष्ण भण्डारी, सूर्यराज शाक्य, कुमार देव मानन्धर, अमृत पुरी, सीता ढकाल, समिना झा तथा हालका कामनपा १६ वडाका अध्यक्ष मुकुन्द रिजाल मुछिएका छन् र तीमध्येका प्रमुख मानिएका प्रधानाध्यापक पौडेलसँग सतर्कता केन्द्रले ताकेता गर्दै बयान लिइरहेको छ ।