काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिएपछि कांग्रेस सरकारमा सहभागी हुने नेपाली कांग्रेसका विमलेन्द्र निधिले बताएका छन्। प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गरिरहेका छन् ।
कांग्रेस ललितपुर नगर समितिले बिहीबार बिहान गरेको कार्यक्रममा निधिले भने, ‘गठबन्धन दलहरूबीच सहमति भएअनुसार सरकार पाँच वर्षसम्म कायम रहन्छ।’
निधिका अनुसार ‘पहिलो चरणमा प्रचण्ड, दोस्रोमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र तेस्रो चरणको सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने सहमति छ,’ उनले भने।
गत पुस १० मा एमालेसहित ७ दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए। तर राष्ट्रपति चुनावका बेला एमालेसँगको गठबन्धन तोड्दै माओवादीसहित ८ दलको गठबन्धन बनेको थियो। नेकपा एमालेसँगको गठबन्धनबाट माओवादी मुक्त भएको पनि निधिको भनाइ थियो।