काठमाडौं । जनमत पार्टीकी उम्मेदवार ममता झाले आफू निर्वाचित भए महिलाको हक अधिकार स्थापित गर्ने बताएकी छिन् ।
नयाँ बानेश्वर सङ्घीय संसद् भवनमा मतदानपछि पत्रकारसँग कुरा गर्दै उनले महिला मतदाताको मत महिलालाई नै दिन आग्रह गरिन् । उनले भनिन, “राष्ट्रपतिमा पुरुष निर्वाचित भएको अवस्थामा उपराष्ट्रपति पदमा महिला निर्वाचित हुनु राम्रो हुन्छ ।”
संसद् भवनको ल्होत्से हलमा दुई मतदान केन्द्रमा मतदान भइरहेको छ । शुक्रबार बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुनेछ । साढे ११ बजेसम्म सङ्घीय संसद् सदस्यतर्फ एक सय ५० र प्रदेशसभा सदस्यतर्फ दुई सय ८६ सदस्यले मतदान गरेका छन् ।
उपराष्ट्रपति पदका लागि जनमत पार्टीकी ममता झा, नेकपा (एमाले) तर्फका उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव छन् ।