काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता साझेदार दलका शीर्ष नेतासँग परामर्श गरेपछि चैत ६ गते विश्वासको मत लिने निर्णय गरेका छन् ।
सत्ता साझेदार दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, जनमत पार्टी, आम जनता पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएका छन् ।
सत्ता साझेदार दलबाट मात्रै प्रचण्डले सजिलै विश्वासको मत पाउने अवस्था छ । कांग्रेस, माओवादी केन्द्रसहित आठ दलले विश्वासको मत दिने पक्का जस्तै छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुनै निर्णय गरेको छैन । ‘हामीले प्रधानमन्त्रीज्यूलाई विश्वासको मत दिने नदिने विषयमा कुनै निर्णय गरेका छैनौँ’ रास्वपाका प्रवक्ता मुकुल ढकालले भने ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री विश्वासको मत लिने अवस्थामा पुगेकाले आफूहरु प्रतिपक्षमै बस्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए ।
सरकारबाट बाहिरिए लगतै एमालेले प्रतिपक्षमा बस्ने निर्णय गरेको हुँदा एमाले पनि प्रतिपक्षमै बस्ने भएको छ । प्रधानमन्त्रीले विश्वासको मत लिए लगत्तै मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । आगामी चैत दोस्रो साताभित्र मन्त्रिपरिषद् पुनर्गठन भइसक्ने माओवादी निकट नेताहरूले बताएका छन् ।