काठमाडौं, चैत ९
वायुसेवा सञ्चालक कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट नेपाली तथा विदेशी मुद्रामा लिएका सम्पूर्ण ऋणको कम्तीमा एक वर्षको ब्याज मिनाहा गर्न माग गरेका छन् । वायु सेवा सञ्चालक कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघको बिहीबार भएको बैठकले ती संस्थाबाट लिएको सम्पूर्ण दीर्घकालीन ऋणको कम्तीमा एक वर्षको किस्ता रकमलाई स्थगन गरी पुनर्तालिकीकरण गर्ने व्यवस्था गर्न र विदेशी मुद्रामा लिइएका ऋण नेपाली रुपैयाँमा समेत भुक्तानी गर्न सकिने व्यवस्था मिलाइदिन आग्रह गरेको हो ।
कोभिड–१९ को विश्वव्यापी संक्रमण फैलिएसँगै नेपालको हवाइ उड्डयन क्षेत्रमा नकारात्मक असर परेको भन्दै वायुसेवा सञ्चालक कम्पनीले राहत प्याकेज घोषणा गर्न सरकारसमक्ष माग गरिएको संघका प्रवक्ता योगराज कँडेल शर्माले बताए । संकटको अवस्थामा आवश्यक सञ्चालन खर्च धान्नकै लागि वायुसेवा कम्पनीलाई बैंकले आपसी सहमतिमा सहुलियत ऋण जारी गरिनुपर्ने, ऋण पुनर्तालिकीकरण सम्बन्धमा वायुसेवा कम्पनी सञ्चालकको उद्देश्यअन्तर्गत प्रदान गरिएको सबै किसिमको ऋणमा लागू हुनुपर्ने माग गरिएको छ ।
कोरोना भाइरसका कारण क्षति पुगेका वायुसेवा उद्योग पुनर्जीवित हुन धेरै समय लाग्ने भएकाले सरकारबाट प्रोत्साहनस्वरुप करछुट, ब्याजमा सहुलियत, ल्याण्डिङ, पार्किङ, राति विसान दस्तुर तथा नेभिगेसन शुल्क तथा अन्य दस्तुर आदिमा छुट प्रदान गर्न संघले विज्ञप्तिमार्फत आग्रह गरेको छ । साथै संघले सबै हेलिकप्टर कम्पनीले पूर्वप्रतिबद्धता गरेका उडानबाहेक हेलिकप्टर आउँदो अप्रिल, १, २०२० देखि उडान नभएका कारण भूमिस्थ (ग्राउण्डेड) गर्ने पनि निर्णय गरेको छ ।