विराटनगर । विराटनगरको महेन्द्र चोकमा कोशी प्रदेश नामकरणको विरोधमा आइतबार भएको विरोधसभास्थलमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । कोशी प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको विरोधमा कोशी प्रदेश पुनः नामकरण सङ्घर्ष समितिले विराटनगमा विरोधसभाको आयोजना गरेको थियो ।
आइतबारको प्रदर्शनमा माओवादी नेता गोपाल किराँती, लिम्बुवानका नेता तथा पहिचान पक्षधरहरू कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, प्रेम एक्तेन, ज्ञानबहादुर राई, डकेन्द्रसिंह थेगिम, गेल्जे लामा शेर्पा, आङ्दावा शेर्पा, दिलराम राई, मिशेकहाङ्ग थाम्सुहाङलगायतले सम्बोधन गर्ने बताइएको छ ।
विरोधसभामा विभिन्न जिल्लाबाट जातीय पहिचानको आधारमा प्रदेशको नाम राखिनुपर्ने मागसहित पहिचान पक्षधरहरु भेला भएका छन् । कोशी प्रदेश नामकरणपछि हुन लागेको विरोध प्रदर्शन रोक्न जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।