काठमाडौं । अछाम, दाङ, कैलाली, बारा, सिरहाका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । अछामको मेल्लेख गाउँपालिका-३ बुढाखोलास्थित सडकमा से.२ त. ४३३१ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार मेल्लेख गाउँपालिका-३ बस्ने १५ वर्षीया मनिषा बुढाको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, दाङ, घोराही उपमहानगरपालिका-३ कुईरेपानीस्थित सडकमा बागमती प्रदेश ०३-००१ क ०१६९ नम्बरको ट्रकले बागमती प्रदेश ०२-०१६ प ३६५७ नम्बरको मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक प्युठान नौबहीनी गाउँपालिका-६ बस्ने ३२ वर्षीय राजन केसीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै, कैलाली, भजनी नगरपालिका-३ कुडि चोकमा से.२ त. १०२० नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार भजनी नगरपालिका-१ ठेगरपुर बस्ने २८ वर्षीय टिकाराम चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी, बारा, सिम्रौनगढ नगरपालिका-९ वसवरियास्थित सडकमा पार्किङ गरी राखेको ट्याक्टरको ट्रलीमा ना.४४ प. ४९९९ नम्बरको मोटरसाइकल ठक्कर खाई आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-८ कचोर्वा बस्ने ३५ वर्षीय बिगु जैसवालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ ।
सिरहा, गोलबजार नगरपालिका-१ गुरुधाम चोकमा स.६ प. २०५८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक अर्नामा गाउँपालिका(३ महनोर बस्ने ३६ वर्षीय चन्देश्वर पालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको भुमिजा अस्पताल गोलबजारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।