काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पछिल्लो सात महिनाको अवधिमा ३१ खर्ब ४६ अर्ब ९९ करोड रुपैयाँबराबरको तरलता प्रवाह गरेको छ । राष्ट्र बैंकका अनुसार चालू आवको माघ मसान्तसम्ममा रिपोमार्फत तीन खर्ब २२ अर्ब ४१ करोड, सोझै खरिद बोलकबोलमार्फत ८३ अर्ब ८५ करोड, स्थायी तरलता सुविधामार्फत २७ खर्ब छ अर्ब ९३ करोड र ओभरनाइट तरलता सुविधा ३३ अर्ब ८१ करोड गरी कुल ३१ खर्ब ४६ अर्ब ९९ करोड रुपैयाँबराबरको तरलता प्रवाह गरिएको हो । यस अवधिमा रिभर्स रिपोमार्फत भने पाँच अर्ब रुपैयाँबराबरको तरलता प्रशोचन गरिएको छ ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणहरुमार्फत खुद ४० खर्ब २६ अर्ब चार करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार अर्थात् वाणिज्य बैंकहरुबाट अमेरिकी डलर तीन अर्ब २७ करोड खुद खरिद गरी चार खर्ब २६ अर्ब २८ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ९० करोड खुद खरिद गरी एक खर्ब आठ अर्ब ३२ करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा अमेरिकी डलर दुई अर्ब ६० करोड बिक्री गरी तीन खर्ब ३८ अर्ब १३ करोडबराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर दुई अर्ब ६० करोड बिक्री गरी तीन खर्ब १० अर्ब २२ करोडबराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।
बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा रकम भने २०७९ माघ मसान्तमा सात अर्ब ८६ करोड लगानीमा छ । २०७९ माघ मसान्तसम्ममा एक लाख ४८ हजार दुई सय ९५ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई दुई खर्ब १० अर्ब ९६ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत ६१ हजार तीन सय ३५ ऋणीलाई प्रवाह भएको एक खर्ब ४२ अर्ब ५६ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ८४ हजार एक सय पाँच महिला उद्यमीलाई प्रवाह भएको ६५ अर्ब १९ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ ।
राष्ट्र बैंकका अनुसार सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुई हजार आठ सय ५५ ऋणीको तीन अर्ब २० करोड कर्जा बक्यौता रहेको छ । व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु-याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा २०७९ माघ मसान्तमा ८८ करोड ५३ लाख रुपैयाँ बक्यौता रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।