काठमाडौं । बानेश्वरमा तीन जना युवाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' विरूद्ध नाराबाजी गरेका छन्। मंगलबार ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सार्वजनिक समारोहमा जाँदै गर्दा उनीहले प्रधानमन्त्रीविरूद्ध नाराबाजी गरेका हुन्।
उक्त कार्यक्रममा प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै एक युवाले प्रहरीलाई आग्रह गरेका थिए। प्रहरीले ती युवालाई समाउन खोज्दा उनले आतंककारी प्रचण्ड मुर्दावाद भन्दै विरोध गरेका थिए। त्यसबीचमा अर्को एक जना युवाले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाए ।
प्रहरीले दुवै जना युवालाई गाडीमा राख्दै गर्दा ती दुबै युवाले गरिब मारा प्रचण्ड मुर्दावाद, मूल्यवृद्धि खारेज गर, नालायक सरकार होसियार, युवालाई मार्न पाइँदैन यस्तो सरकार चाहिँदैन भन्दै नाराबाजी गरेका थिए।
प्रधानमन्त्री कार्यक्रम स्थलमा जाँदै गर्दा उनकै अगाडि एक युवाले बैंकको मिटर ब्याज मिनाह गर भन्दै नारा लगाएका थिए। ती युवालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो।