काठमाडौं । प्रत्येक वर्षको चैत्र कृष्ण औँसीका दिन मनाइने घोडे जात्रा पर्व काठमाडौं उपत्यकामा मंगलबार चैत ७ गते मनाइँदैछ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा एक दिन सार्वजनिक बिदा दिने गरेको छ ।
एक किम्बदन्ती अनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे ।
तै पनि त्यो राक्षस आएर फेरि पनि बालबालिकालाई खतरा पुयाउने हो कि भन्ने आशंका राजधानी बासीमा रह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडे जात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । यसो गरेपछि बर्सभरिका बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा रहेको छ ।
नेपाली सेनाद्वारा आजै टुँडिखेलमा मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला आदि खेलको प्रदर्शन गर्ने गरिन्छ ।