विराटनगर चैत १०
अहिले विश्वसहित सिंगो देश नै कोरोना भाइरस (कोभिड—१९) को संक्रमणबाट लडिरहेको मौका छोप्दै कालोबजारी गर्ने विराटनगरका एक व्यवसायी सरकारको फन्दामा परेका छन् । विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरिसकेको छ । चीनबाट सुरु भएको कोरोना भाइरस हालसम्म विश्वका १ सय ७९ देशमा फैलिसकेको छ । यसले नेपालमा समेत प्रभाव पार्न सक्ने खतरालाई मध्यनजर गर्दै सरकारले अत्यवश्यक वस्तु कालोबजारी गर्नेलाई विराटनगरबाट धमाधम पक्राउ समेत गर्न थालेको छ । हिजो आइतबार विराटनगर महानगरपालिका वडा नं. ९ मा सञ्चालित रहेको राजेश अग्रवालको श्रीसर्जिकल इम्पेक्सले मास्क र सेनेटाइजर कालोबजारी गरेको अवस्थामा अनुगमन गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो ।
विराटनगर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय मोरङसहितको टोलीले अनुगमन गर्दा श्रीसर्जिकल इम्पेक्सका राजेश अग्रवालले ११ हजार ३ सय ५० थान मास्क र २ सय पिस सेनेटाइजर लुकाइराखेको अवस्थामा फेला पारेपछि आवश्यक कारबाही प्रक्रियाअगाडि बढाएको महानगरका मेयर भीम पराजुलीले जानकारी दिए । व्यवसायी अग्रवालले लुकाइराखेको उक्त सामान समेत अनुगमन टोलीले जफत गरेको छ । उनले कालाबजारीलाई यो संकटका बेला सहयोग गर्नुपर्ने ठाउँमा कमाउने प्रयास गरेका कारण हदैसम्मको कारबाही प्रक्रिया अगाडि बढाउने जानकारी समेत दिए ।
कोभिड १९ को भाइरसका कारण करिब १० हजार जनाले अकालमा ज्यान गुमाइसकेका छन् । विश्वव्यापी रुपमा यो फैलिने क्रम बढ्दो छ । विकसित राष्ट्रले समेत नियन्त्रण गर्न नसकेको यो भाइरस अल्पविकसित तथा विकासशील राष्ट्रहरुमा महामारीको रुपमा फैलियो भने कसरी नियन्त्रण गर्ने यो निकै ठूलो चुनौतीको विषय बन्न पुगेको छ । नेपाल सरकारले चैत ५ गते कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण गर्नका लागि १८ बुँदे घोषणापत्र जारी गरेको छ ।