काठमाडौं । वरिष्ठ संचारकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा विहीबार राति काठमाडौंमा निधन भएको हो ।
रेडियो नेपालकी पूर्वसमाचार सम्पादक एवं समाचार वाचिका ताम्राकारको बासबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको उनकी छोरी एवम् सञ्चारकर्मी गृष्मा राजभण्डारीले जानकारी दिइन् । उनी निमोनियाबाट पीडित थिइन् ।
२०१८ साल जेठ २४ मा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचन गरेकी थिइन् । रेडियो नेपालमै उनले नासो तथा वन र वातावरण सम्बन्धी कार्यक्रम सन्चालन गरेकी थिइन् । यही कार्यक्रमबाट उनले सन् १९८९ मा राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) अन्तर्गत ग्लोबल ५०० रोल अफ अनर अवार्ड पाएकी थिइन् ।
उनलाई २०७४ सालमा सूचना तथा सञ्चार मन्त्रालयले वरिष्ठ पत्रकार सम्मानसमेत प्रदान गरेको थियो । ताम्राकारको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।