लन्डन, चैत १०
बेलायत सरकारले विश्व महामारी कोरोना भाइरसका कारण रोजगारी गुमाएका नागरिकको तलबमध्ये ८० प्रतिशत रकम दिने भएको छ । भाइरसकै कारण रेस्टुराँ, होटल बन्द गरेसँगै सरकारले उक्त घोषणा गरेको एजेन्सीहरुले जनाएका छन् । बेलायती अर्थमन्त्री ऋषि सुनकले रिपोर्टरहरुसँगको कुराकानीको क्रममा उक्त घोषणा गरेका हुन् । तर यस्तो रकम आगामी तीन महिनाका लागि हुनेछ । यसरी तलब पाउनेले बढीमा २५ सय पाउन्ड स्टर्लिङ मासिक रुपमा पाउनेछन् ।
उनका अनुसार सरकारले साना र ठूला सबैखाले कम्पनीहरुलाई उक्त रकम अनुदान दिनेछ । घोषित रकम औसत आम्दानीभन्दा धेरै हो । कोरोनाका कारण अर्थतन्त्रमा क्षति पुग्ने भएपछि विश्वभरका सरकारले आवश्यक कदम चालिरहेका छन् । बेलायतले ३० अर्ब पाउन्डको करछुट योजना र १२ महिनासम्मको लागि ब्याजरहित ऋणको घोषणा गरेअनुरुप अर्थमन्त्रीको बेरोजगारी तलब योजना सार्वजनिक भएको हो ।
पछिल्ला दिनमा कोरोना भाइरस संक्रमणलाई गम्भीर रुपमा नलिएको भन्दै बेलायत सरकारको आलोचना बढिरहेको छ । सोही पत्रकार सम्मेलनमा प्रधानमन्त्री बोरिस जोन्सनले कोरोनाविरुद्ध लड्न दूरी बढाउने, रेस्टुराँ बन्द गर्ने, थिएटर र फिल्म हलहरु, जिमलगायत बन्द गर्ने घोषणा गरेका थिए ।