चितवन । जिल्लाका विभिन्न स्थानमा आगलागी हुँदा छ जना घाइते भएका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा भएको आगलागीमा परी उनीहरु घाइते भएका हुन् ।
चालु आवमा जिल्लामा ३३ स्थानमा आगलागी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार विभिन्न स्थानमा भएको आगलागीमा अधिकांश मानवीय त्रुटीका कारण भएको देखिएको छ ।
कार्यालयको विपद् व्यवस्थापन शाखाका अनुसार गत आवमा जिल्लामा ४४ स्थानमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । आगलागीको समय सुरु हुन लागेकाले सबैलाई सजग रहन प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले अनुरोध गरे । उनले जिल्लामा अहिले आपत्कालीन कार्ययोजना निर्माणको काम भइरहेको राससलाई जानकारी दिए ।