काठमाडौं । नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेश कुमार अग्रवाल चयन भएका छन् । परिसंघको गभर्निङ काउन्सिल समितिले परिसंघको विधानअनुरुप अग्रवाललाई वरिष्ठ उपाध्यक्षमा चयन गरेको हो । आगामी वार्षिक साधारणसभापछि अग्रवाल स्वतः परिसंघको अध्यक्ष बन्नेछन् ।
परिसंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नयाँ कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था छ । डेढ दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्य, उद्योग समिति सभापति, राजस्व समिति सभापति एवं विभिन्न समितिमा रहेर काम गरेका अग्रवाल रोजगारदाता परिषद् संयोजक भई २०७४ बाट परिसंघको उपाध्यक्ष रहेका थिए ।
आरएमसी गु्रपका कार्यकारी निर्देशक समेत रहेका अग्रवाल सिमेन्ट, स्टिल, खाद्यलगायतका क्षेत्रमा आबद्ध छन् । उद्योग व्यवसाय क्षेत्रको लामो अनुभव तथा विज्ञताले परिसंघलाई थप गतिशील बनाउँदै देशको अर्थतन्त्र सुधारका लागि उनले महत्वपूर्ण भूमिका खेल्ने परिसंघको विश्वास छ ।