गोरखा । गोरखामा रहेको नेपालकै प्रसिद्ध धार्मिकस्थल गोरखकाली मन्दिर र गोरखनाथ मन्दिरमा राष्ट्रपति रामचन्द्र पौडेलले पूजाअर्चना गरेका छन् । उनी धर्मपत्नीसहित गोरखा गएका हुन् ।
आइतबार बिहान नेपाली सेनाको हेलिकोप्टर चढेर गोरखा दरबार पुगेका उनले गोरखनाथ र गोरखकाली मन्दिरमा करिव आधा घण्टा विशेष पूजाअर्चना गरे । उनलाई गोरखा दरबारका मूल पुजारी शारदाप्रसाद भट्टराईले विधिपूर्वक पूजाअर्चना गराएका थिए ।

गोरखकाली मन्दिरको पूजासकिएलगत्तै पौडेलले गोरखनाथ मन्दिरमा पनि पूजा गरेका हुन् । मन्दिरमा पूजा गरेर फर्किएपछि उनले नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरे ।
उनले आइतबारनै ऐतिहासिक गोरखा दरबार सङ्ग्रहालयकोसमेत अवलोकन गरेका छन् । राष्ट्रपति पौडेल आजै सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ फर्किएका छन् ।