काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार २२ अर्ब १५ करोड २५ लाख रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले आइतबार सूचना जारी गरेर २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिन अवधिको ट्रेजरी बिल जारी गर्न लागिएकोे जनाएको हो । जसमध्ये १७ अर्ब १० करोड २५ लाख रुपैयाँको पुरानो नवीकरणका लागि निष्काशन गरिएकोे छ भने पाँच अर्ब रुपैयाँको नयाँ निष्काशन गरेको हो ।
केन्द्रीय बैंकका २०८० वैशाख १२ गते परिपक्व हुने २८ दिन अवधिको पाँच अर्ब रुपैयाँ, २०८० असार १२ गते परिपक्व हुने ९१ दिन अवधिको ११ अर्ब ५० करोड २५ लाख रुपैयाँँ, २०८० असोज ९ गते परिपक्व हुने १८२ दिन अवधिको ६० करोड रुपैयाँ र २०८० चैत १३ गते परिपक्व हुने ३६४ दिन अवधिको पाँच अर्ब रुपैयाँका लागि सोमबार बोलकबोल गर्न लागेको हो ।
यी ट्रेजरी बिलका सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकले सहभागिता जनाउन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्था वा व्यक्तिलाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुन्छ । ट्रेजरी बिल १ वर्ष वा सोभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबारदेखि जारी हुनेछ ।
के हो ट्रेजरी बिल ? मुद्रा बजारको प्रमुख उपकरणको रुपमा रहेको ट्रेजरी बिल एक वर्ष वा सोभन्दा कम अवधिको राष्ट्र ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । प्रमिसरी नोटका रुपमा सर्वप्रथम विक्रम सम्वत् २०१८ सालमा वार्षिक एक प्रतिशत ब्याजदरमा ७० लाख रुपैयाँ अंकित मूल्यमा ९० दिने ट्रेजरी बिल निष्काशन गरिएको थियो । विक्रम सम्वत् २०४५ साल मंसिर १० गतेदेखि बोलकबोल प्रक्रियाबाट निष्काशन हुँदै आएको यो ऋणपत्र विक्रम सम्वत् २०४८ पुस महिनादेखि साप्ताहिक रुपमा निष्काशन गरिँदै आएको छ ।
विक्रम सम्वत् २०७२ असार देखि ट्रेजरी बिलको बोलकबोल अनलाइन बिडिङ सिस्टमको माध्यमबाट गरिँदै आएको छ । ट्रेजरी बिलको निष्काशनमा बट्टाकट्टा रकम कटाएर बाँकी रकम मात्र नेपाल सरकारको खातामा जम्मा गरिन्छ भने भुक्तानी अवधि पुगेपछि अंकित मूल्यमा पूरै रकम भुक्तानी गरिन्छ । यसरी आर्जित ब्याज (बट्टा) मा आयकरसम्बन्धी प्रचलित कानुनअनुसार आयकर लाग्ने व्यवस्था छ । भुक्तानी मितिअगावै ट्रेजरी बिल रिपो, सोझै खरिद, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तरबैंक कारोबारमा प्रयोग गर्न सकिन्छ । व्यक्तिको हकमा टे«जरी बिल धितो राखी राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिन्छ । स्रोत : नेपाल राष्ट्र बैंक राष्ट्र ऋण व्यवस्थापन मार्गदर्शन, २०७४