विराटनगर । विराटनगरमा भएको कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बुको परिवारलाई प्रदेश सरकारले ३ लाख रुपैयाँ राहत दिने भएको छ ।
मृतकको परिवारलाई तत्काल राहत स्वरुप ३ लाख रूपैयाँ दिने सोमबार बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो । चैत ५मा विराटनगरमा भएको विरोध प्रदर्शनका क्रममा घाइते भएका पदम लिम्बु (लाजेहाङ)को उपचारका क्रममा चैत १०मा मृत्यु भएको थियो ।
मन्त्रिपरिषद बैठकले घटनाको छानबिनका लागि संघीय सरकारले गठन गरेको समितिलाई सहयोग गर्ने निर्णय गरेको छ । बैठकले प्रदेशको नामकरणका लागि भूमिका खेल्ने प्रदेश सभा सभामुख, उपसभामुख, प्रदेश सभा सदस्यहरु, प्रदेश सभा सचिवालय र प्रदेश सभामा उपस्थित राजनीतिक दलहरुलाई धन्यवाद दिएको छ ।