काठमाडौं । मधेशका विभिन्न जिल्लाहरुबाट १२ दिनसम्म लगातार हिँडेर राजधानी आइपुगेका मिटरब्याज पीडितहरुले बिरोध -याली गरेका छन् । आज बिहान काठमाडौँ आइपुगेका उनीहरुले मातातीर्थबाट -याली निकालेका हुन् ।
मीटरब्याजी संघर्ष समितिको आयोजनामा शुरु भएको -याली मातातीर्थ, गुर्जुधारा, सतुङ्गल, नैकाप, ढुंगेअड्डा, कलंकी, रविभवन, कालिमाटी, टेकु, त्रिपुरेश्वर हुँदै खुल्लामञ्चमा पुगेर बिरोध गर्ने तयारी गरेका छन् । संघर्ष समितिका अध्यक्ष मनोज पासवानको नेतृत्वमा मिटर ब्याज संघर्ष समितिको संरक्षक राम रिजन यादव, प्रेम बिक, कुमार बर्तौला , सरु रिजाल , संघर्ष दाहाल राम नरेश यादव लगायत र्यालीमा सहभागि भएका छन् ।
-यालीमा सहभागीहरुले ‘झूठा मुद्दामा गिरफ्तार गरिएका पीडितलाई रिहा गर’, ‘तमसुक व्यवस्था खारेज गर’, मीटरब्याजीको अवैध सम्पत्ति छानबिन गर’, मीटरब्याजीलाई कारबाही गर’, ‘पीडितलाई न्याय दे’, ‘सहुलियत दरमा ऋणको व्यवस्था गर’, मीटरब्याजविरुद्ध कानुन निर्माण गर’ लगायत लेखिएका प्लेकार्ड बोकी प्रदर्शन गरेका छन् ।
जनमत पार्टीका अध्यक्ष सिके राउतले पिडितहरु भएको स्थानमा पुगेर भेटेका थिए । पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका राउतले पिडितहरुलाइ सबै समस्याको समाधान हुने बताएका छन् । उनले पिडितहरुसँग मधेशको समस्यालाई अनुमोदन गर्न सरकारसमक्ष प्रस्ताव लैजाने आश्वासन दिएर आफ्नै गाडीमा फर्किएको बताइएको छ ।