काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा एक अर्ब ९३ करोड ५८ लाख रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले विभिन्न कोषमा रहेको सो रकम बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा लगानी गर्न लागेको जनाएको छ । राष्ट्र बैंकले २०८० वैशाख ३ गतेदेखि २०८१ वैशाख २ गतेसम्म ३६५ दिनका लागि मुद्दती निक्षेप राख्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकहरुमा एक अर्ब ५४ करोड ८६ लाख रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकहरुमा २९ करोड चार लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरुमा नौ करोड ६८ लाख रुपैयाँ निक्षेप राखिनेछ ।
केन्द्रीय बैंकले सूचना जारी गरेर आफूले लिन चाहेको रकम र ब्याजदर खुलाई प्रस्ताव गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई आह्वान गरेको छ । निक्षेप लिन इच्छुक बैंक तथा वित्तीय संस्थाले २०७९ चैत १६ गते राति १२ बजेभित्र इमेलमार्फत आवेदन गर्नुपर्नेछ ।
निक्षेप लिनका लागि राष्ट्र बैंकले विभिन्न शर्तहरु तोकेको छ । तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, कर्जा निक्षेप अनुपात सीमाभित्र रहेको, निष्क्रिय कर्जा कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत कायम भएको शर्तहरु तोकेको छ । यस्तै गत आर्थिक वर्षमा सञ्चालन मुनाफामा रहेको, घरजग्गा कर्जा तोर्किको सीमाभन्दा बढी नभएको, सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत राष्ट्र बैंकबाट जरिवाना गरेको अवस्थामा ती व्यक्तिहरु उक्त संस्थामा कायम नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको छ महिना पूरा भएको, समस्याग्रस्त घोषणा भएकोमा फुकुवा भएको छ महिना अवधि पूरा भएको र सर्वसाधारणका लागि सेयर जारी गरिसकेको संस्थाले निक्षेप लिनका लागि आवेदन दिनसक्नेछन् ।