काठमाडौं । बाध्यात्मक रोजगारीका लागि वैदेशिक रोजगारीमा जान वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिनेहरुमध्ये ९१ प्रतिशत पुरुष र नौ प्रतिशत महिला छन् । विभागका अनुसार चालू आर्थिक वर्षको आठ महिनामा वैदेशिक रोजगारीका लागि चार लाख ९२ हजार तीन सय पुरुष र ४८ हजार तीन सय महिलाले श्रम स्वीकृति लिएका छन् । विभागका अनुसार साउन १ गतेयता कुल पाँच लाख ४० हजार छ सय जनाले श्रम स्वीकृति लिएका छन् । मासिक ६० देखि ७० हजारले विदेशमा काम गर्न श्रम स्वीकृति लिने गरेको विभागका सूचना अधिकारी कृष्ण प्रसाद भुसालले बताए ।
श्रम स्वीकृति लिएका युवामध्ये ठूलो संख्यामा गन्तव्य मुलुकको रुपमा खाडी मुलुक कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, बहराइन, कुवेत र ओमन जाने गरेको विभागका अधिकारीहरु बताउँछन् । यस्तै मलेसिया पनि नेपाली युवाको गन्तव्य मुलुक हो । यसका साथै दक्षिण कोरिया, जापान, पोर्चुगल, बेलायतलगायतका मुलुकमा समेत युवाहरु रोजगारीका लागि जाने गरेका छन् । विभागका अनुसार साउनमा ५६ हजार सात सय ९७ पुरुष र छ हजार दुई सय ४२ जना महिला गरी ६३ हजार ३९ जनाले श्रम स्वीकृति लिएका थिए । भदौमा यस्तो संख्या बढेर ७६ हजार चार सय जना पुगेको थियो, जसमध्ये पुरुष ६८ हजार आठ सय ८४ र महिला सात हजार पाँच सय १९ छन् । असोजमा ५७ हजार दुई सय ९६ पुरुष र पाँच हजार चार सय १० महिला गरी कुल ६२ हजार सात सय जनाले श्रम स्वीकृति लिएका थिए ।
कात्तिकमा श्रम स्वीकृति लिएका ७८ हजार तीन सय जनामध्ये ७१ हजार ३४ जना पुरुष र सात हजार तीन सय ३६ जना महिला थिए । मंसिरमा ६२ हजार सात सय १३ पुरुष र पाँच हजार आठ सय ५१ महिला गरी ६८ हजार पाँच सय, पुसमा ६० हजार चार सय ३१ पुरुष र पाँच हजार ३३ महिला गरी ६५ हजार चार सय, माघमा ५८ हजार चार सय ४७ पुरुष र पाँच हजार आठ सय ३७ महिला गरी ६४ हजार दुई सय र फागुनमा ५६ हजार सात सय १९ पुरुष र पाँच हजार एक सय २६ महिला गरी ६१ हजार आठ सय जनाले श्रम स्वीकृति लिएका छन् ।
हरेक वर्ष पाँच लाख युवाहरु नेपालको श्रम बजारमा आउने र तिनीहरुका लागि पर्याप्त रोजगारीको व्यवस्था नहुँदा विदेशिनुपर्ने बाध्यात्मक अवस्था छ । जसले गर्दा महिला र पुरुष सबै वैदेशिक रोजगारीको लागि खाडी मुलुकका साथै मलेसिया, एसिया, युरोप र अमेरिकाका विभिन्न मुलुक जाने गरेका छन् ।
यसरी वैदेशिक रोजगारीमा जानेहरुमध्ये अदक्ष कामदारको संख्या ठूलो छ । विभागका अनुसार फागुनमा मात्रै झण्डै डेढ लाख अदक्ष युवाले श्रम स्वीकृति लिएका छन् । नेपाली युवाहरु संस्थागत श्रम स्वीकृति लिएर एक सय आठवटा र व्यक्तिगत श्रम स्वीकृति लिएर एक सय ७२ वटा मुलुकमा जान सक्नेछन् । सरकारले अफगानस्तिान, इराक र लिबियामा श्रमका लागि जान भने प्रतिबन्ध लगाएको छ ।
मानवअधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनले वैदेशिक रोजगारीमा जानेमध्ये ९६ प्रतिशत नेपाली श्रमिक खाडी मुलुकहरु कतार, साउदी अरब, यूएई, कुवेत, बहराइन र ओमन तथा मलेसिया जाने उल्लेख गरेको छ । बाँकी चार प्रतिशत अन्य मुलुक जाने गरेको ‘आप्रवासी कामदारहरुको अधिकारको अवस्था’ प्रतिवेदनमा आयोगले उल्लेख गरेको छ ।
पछिल्लो समय बेलायत र इजरायलले नेपाली श्रमिक लैजान चासो दिए पनि त्यसले पूर्णता पाउनसकेको छैन । यद्यपि व्यक्तिगत प्रयासमा भने गएको पाइन्छ । इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि नेपाल सरकार र इजरायली पक्षबीच भएको सम्झौताअनुरुप युवाहरु इजरायल जाने गरेका छन् । दक्षिण कोरिया, जापान, बेलायत, इजरायललगायतका गन्तव्य मुलुक सुरक्षित र राम्रो तलब सुविधा पाउने भएकाले युवाहरु बढी आकर्षित छन् । तर सरकारले ती मुलुकहरुसँग श्रम सम्झौता तथा श्रमिक लैजाने प्रक्रिया अगाडि बढाउन नसक्दा अन्योलको स्थिति कायमै छ ।
यस्तै, सरकारले सयभन्दा बढी मुलुकमा नेपाली श्रमिक पठाउने गरे पनि १० वटा मुलुकसँग मात्र श्रम सम्झौता तथा द्विपक्षीय सम्झौता गरेको छ । जसले गर्दा विभिन्न मुलुकमा रहेका युवाहरु समस्यामा पर्दा उद्धार तथा राहतमा कठिनाइ हुने गरेको छ ।