अमेरिका । केही समयअघि ऋणमा डुबेको क्रिप्टो कम्पनी एफटीएक्सका साम बेन्कम्यान फ्रायडमाथि चिनियाँ सरकारी अधिकारीलाई घुस खुवाएको आरोप लागेको छ ।
बीबीसीका अनुसार अमेरिकामा उनीविरुद्ध नयाँ अभियोग लगाइएको हो । अमेरिकी अभियोजकहरुले सामले चार करोड डलर घुस दिन मञ्जुरी दिएको अभियोग लगाएका छन् । चिनियाँ सरकारले फ्रिज गरेका आफ्ना व्यापारिक खातामा पहुँचका लागि उक्त रकम घुस खुवाएको आरोप छ ।
एफटीएक्स गत वर्ष ऋणमा डुबेको थियो । सामविरुद्ध अमेरिकामा ठगी गरेको आरोप छ । बेन्कम्यानले भने आफूमाथिका अभियोग अस्वीकार गर्दै आएका छन् । उनी अहिले क्यालिफोर्नियामा रहेको आफ्नै घरमा बन्दी जीवन बिताउँदै मुद्दाको सुनुवाइ पर्खिरहेका छन् ।
उनको व्यापारिक कम्पनी अलामेदाको एक अर्ब डलरबराबरको क्रिप्टोकरेन्सी चिनियाँ सरकारले फ्रिज गरेपछि उनले त्यसमा पहुँच पाउन घुस खुवाउन मञ्जुरी दिएको पछिल्लो अभियोग लागेको हो । ट्रान्सफर गरेपछि उक्त अकाउन्ट अहिले खुल्ला भइसकेको छ ।