काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा तरलता दबाब परीक्षण गर्न २५ अर्ब रुपैयाँको ट्रेजरी बिल्स सोझै खरिद गर्ने भएको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीमा तरलता अभाव हुन नदिन ट्रेजरी बिल्सको सोझै खरिद बोेलकबोल (आउट राइट पर्चेज) गर्ने गर्दछ ।
यो यस्तो मौद्रिक औजार हो जसको प्रयोग गरेर केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थामा रकम पठाउँछ । यो औजारको प्रयोग वित्तीय प्रणालीमा तरलता अभाव भएको बेला हुने गर्दछ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज (चैत १६ गते) बिहान १० बजेदेखि दिउँसो ३ बजेभित्र बोलकबोलको समय तोकेको छ । बोलकबोलमा सहभागी भएका बिलहरु चैत १७ गते शुक्रबार खरिद गरिने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।
ट्रेजरी बिल्स बिक्री गर्न इन्छुक बैंक तथा वित्तीय संस्थाले बिहीबार दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट बोलकबोल गर्न सक्नेछन् ।
२०८० असार मसान्तसम्म भुक्तानी मिति भएका नेपाल सरकारका ट्रेजरी बिल्स मात्रै सोझै खरिद गरिने पनि राष्ट्र बैंकले निष्काशन गरेको सूचनामा उल्लेख छ । त्यस्ता ट्रेजरी बिल्सहरु काउन्टरपार्टीले बिक्री गर्न चाहेको खण्डमा तोकिएको भुक्तानी मिति भएको नेपाल सरकारको ट्रेजरी बिल्सको सिरिज नम्बर र परिमाण उल्लेख गरेर बोलकबोलमा सहभागी हुनुपर्नेछ ।
यस्तै ट्रेजरी बिल्सको परिमाणको मूल्यमा बोलकबोल गर्नुपर्नेछ । उदाहरणको लागि एक सयको ट्रेजरी बिल्स कति मूल्यमा बिक्री गर्ने हो सो रकम बोल गर्नुपर्ने बैंकले जनाएको छ ।
यस्तै नेपाल सरकारको ट्रेजरी बिल्सको परिमाण पाँच करोड वा पाँच करोडको भाग लाग्ने दरले खरिद आह्वान गरेको रकमसम्म बोलकबोल गर्न सक्नेछन् । तर एउटा सिरिजको ट्रेजरी बिल्सका लागि एउटामात्र बोलकबोल गर्नुपर्नेछ ।
सोझै खरिद बोलकबोलको रकम बाँडफाँट गर्दा बोलबमोजिमको वार्षिक प्रतिफल दर गणना गरी सबैभन्दा बढी प्रतिफलदर बोल गर्ने काउन्टरपार्टीलाई प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । तर समान वार्षिक प्रतिफलदर भएका बोलपत्रहरुको रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा सो दरको बोल रकमलाई समानुपातिक रुपमा बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षमा आउट राइट पर्चेज गर्न लागेको यो पाचौँपटक हो । विगतमा तरलता अभाव देखिएको भन्दै चार पटकमा ८३ अर्ब २५ करोड रुपैयाँको आउट राइट पर्चेज गरेको थियो ।