काठमाडौं । अनलाइनबाट ठगी गर्ने नौ जना चिनियाँ नागरिकसहित १९ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पत्रकार सम्मेलन गरी पक्राउ परेका १० जना नेपाली नागरिक र नौजना चिनियाँ नागरिकलाई गरेको हो ।
प्रहरीका अनुसार उनीहरुले व्यापारबाट ठूलो कमाइ हुने लोभ देखाएर ह्वाट्एपमार्फत चिनजान गरी अपरेसन टिचर्स नामको च्यानलमार्फत अनलाइन कक्षा सञ्चालन गरी ठगी गर्ने गरेको पाइएको छ । अनलाइन ठगी हुने गरेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको कार्यालयका प्रहरी परीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए । प्रहरीले उनीहरुबाट ठगी कार्यमा प्रयोग भएका विभिन्न विद्युतीय सामग्री बरामद गरेको छ ।
पक्राउ पर्नेमा दोलखा घर भई काठमाडौं बस्ने वुद्धिराज श्रेष्ठ, नुवाकोटका इन्द्र तामाङ, सोही जिल्लाका रामकुमार लामा, काठमाडौं बूढानीलकण्ठका प्रयास भण्डारी, दोलखाका अर्जुन श्रेष्ठ, उदयपुरका अनिता मगर, लमजुङका सुनिता गुरुङ, रामेछापका रविना सुनुवार, गोरखाका अनु गुरुङसहित नौ जना चिनियाँ नागरिक रहेका छन् । उनीहरुबाट १२ थान ल्यापटप, ७४ थान सिमकार्ड, ७७ मोबाइल र नगद चार लाख बरामद गरिएको प्रहरीले जनाएको छ ।