काठमाडौं । नेपाली कांग्रेसले आगामी वैशाख १० मा हुने लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा चितवन क्षेत्र नं २ मा नेता जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो क्षेत्रमा पूर्वजिल्ला सभापति श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । चितवन–२ बाट निर्वाचित रवि लामिछाने नागरिकताको विवादमा परेपछि सो स्थान रिक्त भएको हो । यसैगरी बारा क्षेत्र नं २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि सो स्थान पनि रिक्त भएको छ । बारा २ मा कस्लाई उम्मेदवार बनाउने भन्ने निर्णय हुन बाँकी छ । निर्वाचन आयोगले तनहुँ १, चितवन २ र बारा २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने तयारी गरेको छ ।