काठमाडौं । रुपन्देहीको शुद्धोधन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत घुस रकमसहित पक्राउ परेका छन् । प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी र सो गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष भीम बहादुर यादवलाई घुससहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । प्रवक्ता दाहालका अनुसार नदिजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनका लागि सेवाग्राहीसँग रु. ५० हजार घुस लिँदै गरेको सूचनाका आधारमा आयोगको बुटवल कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरुको साथबाट आयोगको टोलीले घुसबापत लिएको ५० हजार नगद समेत बरामद गरेको छ ।