काठमाडौं । कडा मिजासका रुपमा परिचित अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधार्न सम्बन्धित सबै पक्षसँग सहकार्यको नाममा ‘सम्झौता’ गरेर अगाडि बढ्ने नीति अख्तियार गर्ने देखिएको छ । ऊर्जामन्त्री भएको बेला आफ्ना कुरामात्र लागू गर्न अडिग देखिएका महत अर्थमन्त्री भएपछि भने सबैसँग सहकार्य गरेर अगाडि बढ्न आफू तयार रहेको बताइसकेका छन् ।
शुक्रबार पदबहाली गरेकै दिन सबैसँग सहकार्य गरेर अगाडि बढेर अर्थतन्त्र सुधारका लागि कदम चाल्ने बताएका अर्थमन्त्री डा. महतले आइतबार नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको भेटमा पनि आफू सहकार्यकै पक्षमा रहेको भन्दै उद्योगी÷व्यवसायीहरुको सुझाव सुन्नलाई बढी ध्यान दिए ।
अहिलेको बजेट ल्याएका अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग मात्र होइन अर्थ मन्त्रालयकै उच्च अधिकारीहरुसँग जुहारी खेलेर अनुभवहीनहरुलाई अर्थसचिवको साथै महत्वपूर्ण जिम्मेवारी दिँदा देशको राजस्व संकलन र खर्चको अवस्था भयावह बनेको छ । अहिले राजस्वले चालू खर्च पनि धान्नसक्ने अवस्था छैन । पुँजीगत खर्चका लागि पर्याप्त पैसा नभएपछि अर्थले रोकी–रोकी भुक्तानी दिएको छ । काम गर्नेहरुलाई बिलअनुसारको भुक्तानी गर्ने हो भने असार मसान्तसम्म धेरै काम हुने र भुक्तानी दिन पैसाको अभाव हुने भएपछि अर्थले थोरै थोरै मात्र भुक्तानी दिने गरेको छ ।
बजेट बनाउँदा नै अर्थतन्त्रलाई कमजोर बनाउने तत्वहरुलाई प्रश्रय दिएको कारण सरकारले मध्यावधि समीक्षामार्फत राजस्व संकलनको लक्ष्य घटाएको थियो । घटाएको लक्ष्यमा पनि राजस्व संकलन हुने अवस्था छैन । यसले अहिलेका अर्थमन्त्री महतलाई थप दबाब दिएको छ । ‘सरोकारवाला पक्षसँग सही सम्झौता गरेर अगाडि बढे भने अर्थमन्त्रीका रुपमा महत सफल हुन्छन्’, अर्थ मन्त्रालयका एक पूर्वसचिवले आर्थिक दैनिकसित भने, ‘कुरा सुन्ने र आफ्नो नीति मात्र लगू गर्छु भनेर अगाडि बढे भने अर्थतन्त्र थप संकटतर्फ धकेलिनेछ, अनि सुधार गर्न हम्मेहम्मे पर्नेछ ।’
अर्थमन्त्रीले नेपाल राष्ट्र बैंकसँग सहकार्य गरेर जाने नीति लिने देखिएको छ ।
अर्थमन्त्रीलाई सफल पार्ने वा नपार्ने भन्नेमा राष्ट्र बैंकको ठूलो भूमिका रहन्छ । त्यो बुझेका अर्थमन्त्री महतले शुक्रबार पदबहाल गरेकै दिन आफू राष्ट्र बैंकको वर्तमान नेतृत्वसँग मिलेर निजी क्षेत्रका जायज माग सम्बोधन गर्दै जाने आशय व्यक्त गरेका थिए । धेरैले वामपृष्ठभूमिका गभर्नर अधिकारीसँग कांग्रेसभित्र पनि कडा धारका महत मिलेर जान सक्तैनन् भन्ने अनुमान लगाएका थिए । अहिले सरकारले चाहेर गभर्नरलाई सजिलै हटाउन सक्ने अवस्था छैन भन्ने बुझेका महतले सुरुमै राष्ट्र बैंकसँग मिलेर अगाडि बढ्ने बताउनाले वातावरण केही सहज देखिन्छ । निजी क्षेत्रका सबैजसो समस्या र गुनासा राष्ट्र बैंकमा गएर ठोक्किन्छन् । त्यही भएर सरकार सफल पार्न वा असफल पार्न राष्ट्र बैंकको भूमिका महत्वपूर्ण रहन्छ । अर्थमन्त्री र गभर्नरबीच कुरा मिलेमा निजी क्षेत्रका धेरै समस्या समाधान गर्न सरकार सफल हुन्छ ।
अहिले सरकारसामु बैंक जोगाउनु पनि छ भने उद्योगी, व्यापारी र आमसर्वसाधारणलाई राहत दिनु पनि छ । त्यसका लागि अर्थमन्त्री र राष्ट्र बैंकको नेतृत्वबीच सौहार्दपूर्ण सम्बन्ध हुनु नितान्त आवश्यक छ । नयाँ अर्थमन्त्री आउनासाथ उद्योगी व्यवसायीहरुले भेटेर तरलता बढाउन, ब्याजदर घटाउन, लगानी प्रोत्साहनको वातावरण बनाउन आग्रह गरिसके । त्यसका लागि राष्ट्र बैंकको भूमिका नै प्रमुख हुन्छ । यदि अर्थमन्त्री र गभर्नरबीच कुरा मिलेमा यस्ता समस्यालाई बीचको बाटो लिएर समाधान गर्न सहयोग पुग्नेछ ।
नेपाल उद्योग परिसंघले आइतबार अर्थमन्त्री महतसँग मुलुकको अर्थतन्त्र सुधारका विषयमा छलफल गरेर अर्थतन्त्रमा तत्काल सुधार ल्याउन चालिनुपर्ने १० बुँदे सुझाव समेत दिएको छ । परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले नवनियुक्त अर्थमन्त्री महतलाई आइतबार भेटी अर्थतन्त्र सुधारका सुझाव दिएको हो । अर्थमन्त्री महतले आइतबार आफ्नो कुरा भन्दा पनि व्यवसायीका कुरा धेरै सुनेका थिए । अर्थमन्त्री महतले अर्थ मन्त्रालयभित्रका विभिन्न महाशाखाको अवस्था र निजी क्षेत्रको माग सुनेर पछि मात्र निर्देशन दिने योजना बनाएको स्रोतको दाबी छ ।
निजी क्षेत्रले आफ्ना मात्र कुरा धेरै गर्ने तर राज्यप्रतिको दायित्वलाई कम ध्यान दिने गरेको गुनासो पहिलादेखि नै आउने गरेको छ । आइतबारको भेटमा पनि निजी क्षेत्र र अर्थमन्त्रीबीच करिब त्यस्तै देखिए पनि अर्थमन्त्री महत मौन छन् । यसले महत अर्थतन्त्र सुधार गर्न सबै पक्षसँग जति सकिन्छ लचिलो भएर अगाडि बढ्ने पक्षमा छन् भन्ने संकेत देखिन्छ ।
परिसंघका अध्यक्ष अग्रवालले हालको चुनौतीपूर्ण अर्थतन्त्रमा तत्काल सुधार ल्याउन ब्याजदर घटाइनुपर्ने, तरलता सहज गराइनुपर्ने, लगानीका लागि प्रोत्साहन गर्नुपर्ने बताएका थिए । उनले तीन विषयलाई केन्द्रमा राखेर उच्च मनोबलका साथ काम हुन पाएमा अर्थतन्त्रमा छिटो सुधार आउने दाबी प्रस्तुत गरेका थिए । ब्याजदर घटाउन एवं तरलताको स्थिति सहज बनाउन सीआरआर तीन प्रतिशतमा झारिनुपर्ने, नीतिदर र बैंक दर घटाइनुपर्ने, बैंक तथा वित्तीय संस्थामा रहेको स्थानीय तहको सञ्चित कोषमा भएको मौज्दात रकमको शतप्रतिशत निक्षेपको रुपमा गणना गर्ने व्यवस्था गर्नुपर्ने सुझाव परिसंघले दिएको छ । अर्थतन्त्रका राम्रो विद्यार्थी महतले यो विषयमा उनीहरुको धारणा सुन्ने काम मात्र गरेका थिए ।
यस्तै परिसंघको टोलीले मुद्दती खाता र बचत खाताको ब्याजदरको अन्तर अधिकतम पाँच प्रतिशत हुने व्यवस्था हटाउनुपर्ने, सेयरबजार तथा घरजग्गामा जाने मार्जिन ल्यान्डिङमा जोखिमभार १०० प्रतिशतमा झारिनुपर्ने सुझाव पनि दिएको छ । निर्माण क्षेत्रमा दिइनुपर्ने भुक्तानी छिटो निकासा गराउन पनि परिसंघले सुझाव दिएको छ । यसले बजारमा तरलता बढाउन सहयोग पुग्ने बताइएको छ । जवाफमा अर्थमन्त्री महतले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रको सहयोग आवश्यक रहेको र आफूले सक्दो सहयोग गर्ने बताएका थिए ।
सेयरबजारले पत्याएन
अर्थमन्त्रीको प्रतीक्षामा रहेको सेयरबजारले नयाँ अर्थमन्त्री पाएपछि खुलेको पहिलो कारोबार दिन (आइतबार) नकारात्मक प्रतिक्रिया दिएको छ । नेप्से परिसूचक २० अंकले घटेर एक हजार आठ सय ८८ दशमलव ५५ विन्दुमा झरेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७२ अंकले घटेर तीन सय ५५ दशमलव ७५ विन्दुमा झरेको छ । साधारण सेयरको कारोबार मापन गर्ने फ्लोट इन्डेक्स एक दशमलव ४२ अंकले घटेर एक सय ३२ विन्दुमा झरेको छ । सेन्सेटिभ फ्लोट इन्डेक्स पनि एक दशमलव ३३ अंकले घटेर एक सय १८ दशमलव १८ विन्दुमा झरेको छ ।
यस दिन बजार घटेको मात्रै छैन ४६ अंक बढीको उतारचढाव देखिएको छ । अर्थमन्त्रीमा प्रकाशशरण महत आएपछि खुलेको पहिलो दिनको बजार देखेर लगानीकर्ता निराश छन् । हुन त अर्थमन्त्री महतले गभर्नर महाप्रसाद अधिकारीसँग सहकार्य गरेरै सेयरबजारलगायत समग्र अर्थतन्त्रमा देखिएका विद्यमान समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । त्यहीअनुरुप उनले गभर्नर र निजी क्षेत्रसँगको कुराकानीलाई तीव्रता दिएका छन् । तर लगानीकर्ताले एमालेनिकट गभर्नर अधिकारीसँग राम्रो समन्वय गर्न सक्छन् भन्नेमा अझै आशंका गरिरहेका छन् । यहीकारण आइतबारको बजार ऋणात्मक बनेको विश्लेषण कतिपयको छ ।
कर्जामा उच्च ब्याजदर, तरलता अभाव र केही नीतिगत व्यवस्थाका कारण बजार प्रभावित हुँदै आएको छ । यस्तो बेला नयाँ अर्थमन्त्रीको आचरण हेरेर बजारले प्रतिक्रिया दिने धेरैको अपेक्षा थियो । तर पहिलो दिन नै नेप्से घट्न थालेपछि बजारले महतलाई अर्थमन्त्रीको रुपमा नपत्याएको संकेत गरेको छ ।
चुनावपछि बनेको सरकारको अर्थमन्त्रीमा विष्णु पौडेल आउँदा बजारले स्वागत मात्रै गरेन साढे चार सय अंकको वृद्धि दिएको थियो । पौडेलको बहिर्गमनसँगै घटेको बजार नयाँ अर्थमन्त्रीको प्रतीक्षामा थियो । लगानीकर्ताले ‘पर्ख र हेर’को रणनीति अपनाउँदा एक हजार नौ सयको विन्दुभन्दा तल झर्नसकेको थिएन । तर अर्थमन्त्री आउनेबित्तिकै बजार घटेको छ ।
आइतबार बजार घटे पनि कारोबार रकम गत साताको अन्तिम दिनको तुलनामा बढेको छ । दिनभर एक अर्ब २० करोड ७१ लाख रुपैयाँबराबरको ३७ लाख ८७ हजार कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका दुई सय १६ कम्पनीमध्ये २३ वटाको सेयर मूल्य बढेको छ भने एक सय ८९ वटाको घटेको छ । चार कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । कारोबारमा आएका सबै उपसमूह घटेका छन् । बजार घटे पनि कालिञ्चोक दर्शन लिमिटेडका सेयरधनीले नौ दशमलव ९६ प्रतिशत कमाएका छन् ।
सर्वाधिक गुमाउनेमा स्वाभिमान लघुवित्त वित्तीय संस्थाका सेयरधनी छन् । यो लघुवित्तको सेयरमूल्य नौ दशमलव ६१ प्रतिशतले घटेको छ । एनआईसी एसिया बैंकको सर्वाधिक पाँच करोड पाँच लाख रुपैयाँको सेयर कारोबार भएको छ ।