काठमाडौं, चैत १३
सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा एनसेल प्राइभेट लिमिटेडले १० करोड रुपैयाँ योगदान गरेको छ । यो सहयोग कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारमा उपयोग हुनेछ । एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले मंगलबार प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यलयका सचिव नारायणप्रसाद बिँडारीलाई १० करोडको चेक हस्तान्तरण गरेका छन् । सिंगो विश्व कोभिड–१९ विरुद्ध लडिरहँदा नेपाल पनि एकजुट भएर यो संक्रमणसँग जुधिरहेको छ ।
‘कोभिड–१९ बाट हरेक नागरिकलाई जोगाउनुका साथै सम्भावित संक्रमणको उपचारका लागि हामीले सम्पूर्ण ध्यान केन्द्रित गरेका छौं । सरकारको यो सत्प्रयासमा एनसेलजस्तो निजी क्षेत्रको ठूलो सेवाप्रदायकले गरेको योगदान सह्राहनीय छ । यो सहयोगले तात्कालिक सेवा प्रवाहमा ठूलो भूमिका खेल्नेछ’, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव नारायणप्रसाद बिँडारीले भने, ‘एनसेल सधैं जिम्मेवार कर्पोरेट नागरिकको रूपमा रहिआएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत एनसेलले सरकारको कोभिड–१९ कोषमा गरेको १० करोड सहयोग यसकै निरन्तरता हो । यो सहयोगसँगै हामी सरकार र आमनागरिकसँग एक भई कोभिड–१९ विरुद्ध लड्न र संक्रमण फैलिन नदिन प्रतिबद्ध रहेको जानकारी गराउन चाहन्छौं ।’
यो योगदानले कोभिड–१९ रोकथामका लागि स्वाथ्यकर्मीहरूलाई चाहिने अत्यावश्यक स्वास्थ्य सामग्री तथा उपकरणहरुको खरिदमा सरकारलाई सहयोग हुने एनसेलले जनाएको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले भने, ‘यस अप्रत्याशित अवस्थामा आफ्ना ग्राहकका लागि सेवा सुनिश्चित गर्न र सबैलाई स्वस्थ तथा सुरक्षित वातावरण प्रदान गर्न एनसेल प्रयासरत रहेको छ । अत्यावश्यक सेवाप्रदायक र जिम्मेवार कर्पोरेट नागरिकको नाताले नेपालभरका लाखौं ग्राहक, साझेदार र कर्मचारीको सुस्वास्थ्य सुनिश्चित गर्न प्रतिबद्ध छौं । यस कठिन परिस्थितिमा सबै नागरिकलाई स्वच्छ/स्वस्थ रहन र भौतिक दूरी कायम राख्न आग्रह गर्दछौं ।’
‘यस चुनौतीपूर्ण घडीमा सेवाग्राहीहरूले देखाएको धैर्यको हामी कदर गर्छौं । उहाँहरूलाई अत्यावश्यक दूरसञ्चार सेवा प्रभावकारी रूपमा प्रदान गर्न हामी प्रयत्नरत छौं’, उनले भने । स्थापनाकालदेखि एनसेलले विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नेपालको सामाजिक, आर्थिक विकासमा सहयोग पु-याउँदै ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको कम्पनीले जनाएको छ । शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण संरक्षण, प्राकृतिक प्रकोप व्यवस्थापन तथा राहतजस्ता क्षेत्रमा एनसेलले योगदान पु-याउँदै आएको छ ।