चितवन । एलपी ग्यास बोकेको भारतीय ट्याङ्कर पल्टिँदा एक जनाको मृत्यु भएको छ। चितवनको मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ७० डिटी ६०५५ नम्बरको भारतीय ट्याङ्कर अनियन्त्रित भई सडक छेउमा पल्टिदा सो ट्याङ्करमा सवार एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ट्याङ्करमा सवार दुई जना घाइते भएका छन् । घाइते हुनेमा भारतको वरौजी बस्ने २९ वर्षीय राम वतन ताती र अर्का एक जना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । तातीको स्थानीय ट्रमा सेन्टर कुरिनटारमा उपचार भइरहेको छ ।
अर्का एक जनाको अवस्था गम्भीर रहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनका अनुसार दुर्घटना आज बिहान ६ बजे भएको हो । ट्याङ्कर अनियन्त्रित भएर सडक छेउमा पल्टिएको हो ।