काठमाडौं । सरकारले १० अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउन लागेको छ । राष्ट्र बैंकले जारी गर्ने विकास ऋणपत्रमार्फत सो रकम ऋण लिनलागेको हो । नेपाल सरकारको तर्फबाट राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बोलकबोलमार्फत छ वर्षे अवधिको विकास ऋणपत्र २०८५ ‘छ’ बिक्रीमा ल्याएको हो ।
राष्ट्र बैंकले निष्काशन गर्नलागेको ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोलमार्फत विकास ऋणपत्र खरिद गर्नसक्ने जनाएको छ ।
ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । सो ऋणपत्र धितो राखी कर्जा लिन र दिन पाइनेछ ।
ऋणपत्रमा आज (मंगलबार) दिउँसो ३ बजेसम्म बोलकबोल हुने र २२ गते निष्काशन हुने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्रको सावाँ भुक्तानी २०८५ चैत २२ गते हुनेछ भने ब्याज अर्धवार्षिक रुपमा हुनेछ ।
राष्ट्र बैंकले ऋणपत्रको कुल रकममध्ये प्रतिस्पर्धी बोलवालाहरुलाई ८५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड रुपैयाँ र अप्रतिस्पर्धी बोलवालाहरुलाई एक अर्ब ५० करोड रुपैयाँ छुट्याएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याएको रकमको लागि पूरा बोल नभएमा बाँकी रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री हुने राष्ट्र बैंकले जनाएको छ ।
बोलवालाहरुले कम्तीमा ५० हजार रुपैयाँ र सोभन्दा माथि निष्काशित रकमसम्म ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा आवेदन दिन सक्नेछन् ।
पछिल्लो समय सरकारले धमाधम आन्तरिक ऋण उठाइरहेको छ । सोमबार मात्रै पुरानो नवीकरण र नयाँ गरी कुल २८ अर्ब पाँच करोड रुपैयाँ ऋण माग गरेको थियो । सरकारले राष्ट्र बैंकले जारी गर्ने ट्रेजरी बिलमार्फत सो ऋण लिएको हो ।