काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि ह्याप्पी आवर्स योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत बैंकका ग्राहकहरूले ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशतसम्म क्यासब्याक पाउनेछन् । बैंकले मोबाइल बैंकिङ एप्लिकेसन– ग्लोबल स्मार्ट प्लसबाट गरिने भुक्तानी प्रक्रियालाई प्रवद्र्धन गर्नका लागि यो क्यासब्याक योजना सार्वजनिक गरेको हो ।
२०७९ चैत १९ देखि २०८० वैशाख १६ गतेसम्म विशेषरूपमा चल्ने यस योजनामा प्रतिग्राहक प्रतिदिन एक कारोबारको क्यासब्याकका लागि योग्य हुने बैंकले जनाएको छ । योजनाअन्तर्गत आइतबारदेखि मंगलबारसम्म बेलुका सात बजेदेखि १० बजेभित्र बैंकले तोकिदिएका क्षेत्रमा भुक्तानी गर्दा अधिकतम एक सय रुपैयाँ नबढ्ने गरी २० प्रतिशतसम्म क्यासब्याक हुनेछ । बैंकका अनुसार आइतबार मोबाइल डाटा प्याक खरिद गर्दा, सोमबार टीभीको बिल र मंगलबार इन्टरनेटको बिल भुक्तानी गर्दा क्यासब्याक पाउन सकिनेछ । यस्तै बुधबार साँझ ७ देखि १० बजेसम्म हवाइजहाजको टिकट खरिद गर्दा र शनिबार बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म केबलकारको टिकट खरिद गर्दा अधिकतम दुई सय रुपैयाँ नबढ्नेगरी २० प्रतिशतसम्म क्यासब्याक हुनेछ ।
ग्लोबल आईएमई बैंकले देशभर ७७ जिल्लामा तीन सय ६४ शाखा कार्यालय, तीन सय ६३ एटीएम, तीन सय २१ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सय बढी सेवाकेन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ ।