काठमाडौं । आईमई जनरल इन्स्योरेन्सको विशेष साधारणसभाले पु्रडेन्सियल इन्स्योरेन्ससँग गाभ्ने/गाभिने (मर्जर) सम्बन्धमा अन्तिम प्रस्ताव स्वीकृत गरेको छ । मर्जरपछि बन्ने निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम आईजीआई पु्रडेन्सियल इन्स्योरेन्स लिमिटेड रहनेछ । यी दुई इन्स्योरेन्स बराबर सेयर स्वाप रेसियोमा मर्जरमा जान लागेका हुन् ।
बुधबार काठमाडौंमा सम्पन्न विशेष साधारणसभालाई सम्बोधन गर्दै इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकालले बीमा बजार तथा नियामक निकायबाट चुक्ता पुँजीसम्बन्धी प्राप्त निर्देशनलाई मध्यनजर गरेर प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीसँग मर्जका लागि अन्तिम सम्झौता भई सोहीबमोजिम गर्न लागिएको बताए ।
मर्जरपछि बन्ने कम्पनीको चुक्ता पुँजी तीन अर्ब दुई करोड ९३ लाख ३४ हजार छ सय ३९ रुपैयाँ कायम हुनेछ । जसको कारण अन्तर्राष्ट्रिय, राष्ट्रिय, स्थानीय पहुँच, अनुभव, क्षमतालाई बढीभन्दा बढी उपयोग गरी सातवटै प्रदेशमा शाखा कार्यालय र डिजिटल माध्यमबाट बीमा सेवा प्रदान गर्न थप सहज हुने विश्वास गरिएको छ ।