काठमाडौं । चितवनको राप्ती नगरपालिका-१ लोथरबाट १ सय ८१ किलो ५ सय ग्राम गाँजासहित प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पुर्वी चम्पारण बिहार रक्सोल-८ बस्ने ३० वर्षीय कुन्दन पटेल रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले बीआर ०६ जी २१२८ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकभित्र लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक पटेललाई शुक्रबार पक्राउ गरेको हो ।
यसैगरी, मोरङ, सुनवर्षी नगरपालिका-८ सिक्टी नाकाबाट नियन्त्रित लागूऔषध ट्रमाडोल ५ हजार ट्याब्लेटसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनवर्षी नगरपालिका-६ रवनपुर बस्ने २६ वर्षीय दिनेश कुमार दास र सोही ठाउँ बस्ने १९ वर्षीय मन्तोश कुमार दास रहेका छन् ।
प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३७ प. ८३४१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।