काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत २७ गते अर्थात् आज सोमबार पुनः २२ अर्ब ४६ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही चैत २० गते पनि राष्ट्र बैंकले २८ अर्ब पाँच करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
राष्ट्र बैंकका अनुसार जारी मिति चैत २८ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने उक्त ट्रेजरीहरु बिलहरुमा क्रमशः २८ दिने अवधिको तीन अर्ब, ९१ दिने अवधिको आठ अर्ब, एक सय ८२ दिने अवधिको छ अर्ब ४६ करोड र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँबराबरको रहेको छ ।
जसमध्ये २८ दिनेको २०८० वैशाख २६ गते, ९१ दिनेको २०८० असार २६ गते, एक सय ८२ दिने अवधिको २०८० असोज २३ गते र तीन सय ६४ दिने अवधिको २०८० चैत २७ गते परिपक्व हुने अवधि तोकिएको छ । राष्ट्र बैंकका अनुसार आज बिक्री हुुने यी ट्रेजरी बिलहरुमा एक सय ८२ दिने अवधिको छ अर्ब ४६ करोड रुपैयाँमध्ये छ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल नयाँ रहेको छ भने बाँकी सबै पुरानो नवीकरणअन्तर्गतका रहेका छन् ।
यसअघि अर्थात् गत साता पनि राष्ट्र बैंकले २८ दिने अवधिको चार अर्ब, ९१ दिने अवधिको सात अर्ब ७५ करोड, एक सय ८२ दिने अवधिको पाँच अर्ब ३० करोड र तीन सय ६४ दिने अवधिको ११ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरेको थियो ।