काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटका लागि सुझाव माग गरेको छ । आगामी आर्थिक वर्षको लागि बजेट तथा कार्यक्रम तर्जुमासम्बन्धी कार्य प्रारम्भ भइसकेकोले उपयुक्त सुझावहरु दिन सबैमा अर्थ मन्त्रालयले आग्रह गरेको हो ।
मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयहरुको सम्बन्धमा आफ्ना अमूल्य सुझावहरु वैशाख १५ गतेभित्र मन्त्रालयमा उपलब्ध हुने गरी पठाउन सबैमा आग्रह गरेको हो । मन्त्रालयले विभिन्न संघ संस्था, बुद्धिजीवी, विज्ञ, राजनैतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत् तथा आम नागरिकलाई आग्रह गरेको हो ।
सुझाव दिन चाहनेले मन्त्रालयको वेबसाइटमा रहेको ‘बजेट सुझाव’मार्फत तथा इमेलबाट समेत पठाउन सक्नेछन् । हरेक वर्षको बजेट निर्माणको क्रममा मन्त्रालयले बजेटका लागि आवश्यक सुझाव माग गर्ने र त्यसलाई समावेश गर्ने गरेको पाइन्छ । हाल पनि सोही कार्यलाई निरन्तरता दिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए । उनले अघिल्ला वर्षजसरी उपयुक्त सुझावले बजेटमा स्थान पाउने बताए ।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १६ खर्ब ८८ अर्ब रुपैयाँको बजेट सीमा निर्धारण गरेको छ । चालू आर्थिक वर्षको तुलनामा छ दशमलव २२ प्रतिशतले कमी आउने गरेको आयोगले आगामी आर्थिक वर्षको लागि बजेट सिलिङ तोकेको हो । चालू आर्थिक वर्षको अर्धवार्षिक अवधिसम्म राजस्व परिचालनमा देखिाएको संकुचन, वैदेशिक सहायता परिचालनमा अनुदानको घट्दो प्रवृत्ति र विनिमय दरमा भएको वृद्धिको कारण सावाँ/ब्याज भुक्तानीमा पर्नसक्ने थप चाप तथा आन्तरिक ऋण भुक्तानीको व्ययभर समेतको विश्लेषण गरी आगामी आर्थिक वर्षको लागि राष्ट्रिय स्रोत परिचालनको यथार्थपरक अनुमान तथा प्रक्षेपण गरिएको आयोगको दाबी रहेको छ ।