काठमाडौं । सहकारी संस्थाहरूलाई अत्याधुनिक डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले आईएमई–पे र एमबैंकबीच सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा आईएमई–पेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विष्णु महर्जनले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार एम बैंक एपमार्फत छ सय ५० भन्दा बढी सहकारी संस्थाहरू तथा संस्थाका सदस्यहरूले आईएमई–पे वालेटमा रकम लोड, आईएमई–पेबाट सहकारीमा रकम ट्रान्सफर, सेयर खरिदको भुक्तानी, चन्द्रागिरि केबुलकारको टिकटदेखि सबै किसिमको युटिलिटी पेमेन्ट भुक्तानीलगायतका अन्य डिजिटल सेवा उपलब्ध हुनेछ । मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिँदै आएको आईएमई–पेमा हाल प्रत्यक्षरूपमा ४० लाख नेपाली नागरिकले सेवा लिइरहेका छन् । आईएमई–पेका देशभर करिब ४५ हजार एजेन्ट रहेका छन् ।