सोलुखुम्बु । सोलुखुम्बुको लुक्ला आउने पर्यटकले रामेछापको मन्थली विमानस्थल भरिभराउ बन्न थालेको छ । नागरिक उड्डयन प्राधिकरणले समर सेडुल ‘स्टल रुट’ अनुसार लुक्लाको लागि उड्ने पर्यटकीय उडान मन्थलीबाट सुरु गरेसँगै अहिले मन्थली विमानस्थल विदेशी तथा स्वदेशी पर्यटकको चाप उच्च भएको हो ।
अहिले मन्थलीबाट तारा, सिता र समिट लगायतका विभिन्न निजी कम्पनीहरूले दैनिक लुक्लाको लागि पर्यटकहरू बोकिरहेका छन् । समर सेडुलअन्तर्गत चैत्र १६ गतेबाट मन्थलीदेखि लुक्लासम्मका उडान सञ्चालन भइरहेका छन् । यसबीचमा सयौँ उडान भइसकेको नागरिक उड्डयन प्राधिकरण रामेछापले जनाएको छ । जसमा मन्थलीबाट यस सिजनको हालसम्म सबैभन्दा बढी ५५ वटासम्म उडान भएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख महेश श्रेष्ठले जानकारी दिए । मन्थलीबाट लुक्लाको लागि विमान सञ्चालनमा आएपछि मन्थली विमानस्थल र आसपासको क्षेत्र विदेशी पर्यटकले खचाखच भएका छन् । मन्थलीमा धेरै सुविधासम्पन्न होटल नभएका कारण राति काभ्रेको धुलिखेल, सिन्धुलीको मुलकोटलगायतका क्षेत्रमा बास बसेर पर्यटकहरू बिहानै मन्थली आई सोलुतर्फ आउने गरेका छन् ।
मन्थलीबाट सोलुका लागि हुने अधिकांश उडान बिहान सबेरै हुने गर्छन् । अहिले मन्थलीमा रहेका होटलहरू पनि पर्यटकहरूले खचाखच भएका छन् । मन्थली विमानस्थललाई काठमाडौंको वैैकल्पिक विमानस्थलको रूपमा विकास गर्ने सरकारको योजना छ ।