काठमाण्डौं,चैत १७
जर्मनीको हेस स्टेटका अर्थमन्त्री टोमस साफरले आत्महत्या गरेका छन् । एएफपीका अनुसार विश्व महामारी कोरोना भाइरसले अर्थतन्त्र संकटोन्मुख भएको चिन्ताका कारण उनले आत्महत्या गरेको आइतबार स्टेट प्रिमियर वल्कर बफिरले बताएका हुन् । ५४ वर्षका उनी शनिबार रेलवे ट्र्याकमा मृत भेटिएका थिए । द विस्बाडेन प्रोसिक्युसन्स अफिसले उनले आत्महत्या गरेको विश्वास गरेको छ । ‘हामी पत्याउनै सकिरहेका छैनौँ, विश्वास नै लागिरहेको छैन, हामी चिन्ताग्रस्त छौँ’, बफिरले रेकर्ड गरिएको वक्तव्यमा भनेका छन् । हेसलाई जर्मनीको वित्तीय राजधानी फ्रान्कफर्टको घर मानिन्छ । जहाँ ड्युच बैंक र कमर्जबैंकको मुख्यालय छ । त्यस्तै युरोपेली केन्द्रीय बैंक पनि त्यहीँ छ । बफिरले साफर हेसको वित्तीय प्रमुखको रुपमा १० वर्ष काम गरेको सम्झिँदै कोरोना महामारीको बेला उनले कम्पनी र कामदारको लागि दिनरात काम गरेको बताए।
‘आज, हामी सहजै अनुमान लगाउन सक्छौँ – उनी अर्थतन्त्रलाई लिएर निकै चिन्तित थिए’, चान्सलर एंगेला मर्केलका नजिक मानिने बफिरले भने, ‘यस्तो भयावह परिस्थितिमा साफर हामीलाई निकै चाहिने व्यक्तिमा पर्थे ।’ उनी निकै चर्चित र सम्मानित व्यक्ति रहेको बताइएको छ । उनले बफिरलाई आफ्नो उत्तराधिकारी समेत रहेको सार्वजनिक रुपमै बताउँथे । साफिर सेन्टर राइट सीडीयू पार्टीका नेता थिए । उनका श्रीमती र दुई सन्तान रहेका छन् ।
(द स्ट्रेट्स टाइम्सबाट अनुवाद)